काठमाडौं । नेपालको विज्ञापन तथा सञ्चार क्षेत्रमा प्रतिष्ठित मानिँदै आएको कृति अवार्ड्स २०८३ को आयोजना घोषणा गरिएको छ।
यस वर्ष रेडबुल इनर्जी ड्रिंक्स मुख्य प्रायोजक रहेकाले अवार्डको नाम ‘रेडबुल १३औँ कृति अवार्ड्स २०८३’ राखिएको आयोजकले जनाएको छ।
विज्ञापन संघ नेपाल (आन)को आयोजनामा हुने अवार्ड समारोह आगामी महिना भव्य रूपमा आयोजना गर्ने तयारी गरिएको छ। कार्यक्रममा नेपाल मिडिया सोसाइटी, मिडिया एलायन्स नेपाल, नेपाल ब्रोडकास्टिङ एसोसिएसन, एकोर्याब र ब्रोडकास्टर्स फोरम सहआयोजकका रूपमा सहभागी भएका छन्।
त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल सरकारको विज्ञापन बोर्डले अवार्डलाई इन्डोर्समेन्ट तथा सम्बन्धन प्रदान गरेका छन्।
२४ नयाँ विधा थप
यस वर्षको कृति अवार्ड्समा डिजिटल, इभेन्ट्स र इन्टिग्रेटेड गरी तीन नयाँ क्षेत्र समेटिएका छन्। आयोजकका अनुसार २४ वटा नयाँ विधा थप गर्दै कुल ३१ विधामा ५५ वटा अवार्ड प्रदान गरिनेछ।
टेलिभिजन, छापा, रेडियो, डिजिटल, प्रिन्ट, सामाजिक सञ्जाल तथा एकीकृत विज्ञापन अभियानमा उत्कृष्ट सिर्जनात्मक काम गर्ने एजेन्सी, ब्रान्ड तथा सिर्जनाकर्ताबीच प्रतिस्पर्धा हुनेछ।
कृति अवार्ड्सले नेपाली विज्ञापन, मार्केटिङ तथा सञ्चार क्षेत्रमा सिर्जनात्मकता, मौलिकता र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै आएको छ। १३औँ संस्करणसम्म आइपुग्दा यो नेपाली विज्ञापन बजारको महत्वपूर्ण सिर्जनात्मक मञ्चका रूपमा स्थापित भएको आयोजकको दाबी छ।
विज्ञापन क्षेत्रका विज्ञ सम्मिलित जुरी
अवार्डको मूल्यांकन प्रक्रियालाई पारदर्शी र विश्वसनीय बनाउन काठमाडौँ विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. विजय केसीको अध्यक्षतामा जुरी गठन गरिएको छ।
जुरीमा वरिष्ठ सञ्चारकर्मी भारती सिलवाल गिरी र वरिष्ठ मार्केटिङ विज्ञ रविन्द्रमान श्रेष्ठसहित सम्बन्धित क्षेत्रका विशेषज्ञहरू सहभागी छन्। जुरीले विषयगत मूल्यांकनकर्ताको मनोनयन गरी प्रतिस्पर्धामा रहेका सिर्जनात्मक कार्यको मूल्यांकन तथा विजेताको छनोट गर्नेछ।
२०८० वैशाखदेखि २०८३ असारसम्मका सिर्जना प्रतिस्पर्धामा
आनका अनुसार कृति अवार्ड्सका लागि मनोनयन दर्ता प्रक्रिया खुला भइसकेको छ। २०८० वैशाख १ गतेदेखि २०८३ असार मसान्तसम्म उत्पादन तथा प्रदर्शन भएका सिर्जनात्मक कार्यहरू अवार्डका लागि दर्ता गर्न सकिनेछ।
विज्ञापन एजेन्सी तथा ब्रान्डहरूले आफूले उत्पादन तथा प्रदर्शन गरेका सिर्जनात्मक सामग्रीलाई तोकिएको प्रक्रियाअनुसार प्रतिस्पर्धामा सहभागी गराउन सक्नेछन्।
आनका अध्यक्ष सुदीप थापाले यसपटक धेरै नयाँ विधा थप गरेर नेपाली विज्ञापन क्षेत्रमा सिर्जनात्मकताको दायरा फराकिलो बनाउन खोजिएको बताए।
उनका अनुसार कृति अवार्ड्सले सुरुदेखि नै विज्ञापन क्षेत्रको सिर्जनात्मकता र मौलिकतालाई प्रवर्द्धन गर्दै आएको छ। नयाँ विधा थपिएसँगै नेपाली विज्ञापन बजारलाई अन्तर्राष्ट्रिय बजारमा समेत चिनाउन सहयोग पुग्ने उनको विश्वास छ।
कृति अवार्ड्सले विज्ञापन तथा मार्केटिङ उद्योगको विस्तारसँगै नेपाली अर्थतन्त्रलाई समेत थप चलायमान बनाउन योगदान पुर्याउने आयोजकको अपेक्षा छ।


