काठमाडौं । नेपालमा आएको विनाशकारी बाढी–पहिरोका कारण काठमाडौंमा आयोजना हुन लागेको नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी हालका लागि स्थगित गरिएको छ।
मिडिया स्पेस सोलुसन्स प्रालि, एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि तथा फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा भदौ १९ देखि २१ गतेसम्म भृकुटीमण्डपमा प्रदर्शनी आयोजना गर्ने तयारी गरिएको थियो।
तर पछिल्लो समय देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएको र नागरिकहरू कठिन परिस्थितिबाट गुज्रिरहेका बेला व्यापारिक प्रदर्शनी सञ्चालन गर्नु उपयुक्त नदेखिएको भन्दै आयोजकले कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।
आयोजकका अनुसार प्राकृतिक विपत्तिका कारण देश संवेदनशील अवस्थामा रहेको, यातायात तथा पूर्वाधारमा समस्या देखिएको र सहभागी, प्रदर्शक तथा आगन्तुकको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने भएकाले प्रदर्शनी स्थगित गरिएको हो।
नेपाल सरकारबाट जारी सुरक्षा सचेतनालाई समेत ध्यानमा राखिएको आयोजकले जनाएको छ। साथै भारत र चीन सरकारले आफ्ना नागरिकका लागि जारी गरेको यात्रा तथा सुरक्षा सम्बन्धी सचेतनालाई समेत आयोजकले निर्णयको आधार बनाएको छ।
उद्योग–व्यवसाय क्षेत्रलाई समेत असर
विद्युतीय सामग्री, पावर, लाइटिङ, इलेक्ट्रोनिक्स तथा होम अप्लायन्स क्षेत्रका स्वदेशी तथा विदेशी कम्पनीको सहभागिता रहने गरी आयोजना गर्न लागिएको प्रदर्शनी स्थगित हुँदा यस क्षेत्रमा हुने व्यापारिक भेटघाट, उत्पादन प्रदर्शन, नयाँ प्रविधिको प्रचार तथा व्यवसायिक सम्झौता समेत प्रभावित हुने देखिएको छ।
यस्ता अन्तर्राष्ट्रिय प्रदर्शनीले उत्पादक, आयातकर्ता, वितरक, व्यवसायी तथा उपभोक्तालाई एउटै प्लेटफर्ममा जोड्ने भएकाले कार्यक्रम स्थगित हुनु व्यापारिक गतिविधिका लागि समेत महत्वपूर्ण विषय बनेको छ।
आयोजकले भने देशको अवस्था सामान्य भएसँगै यातायात तथा पूर्वाधार सुचारु भएपछि प्रदर्शनीको नयाँ मिति सार्वजनिक गर्ने जनाएको छ।
प्राकृतिक विपत्तिको यस कठिन परिस्थितिमा कार्यक्रम स्थगित गर्नुपरेको भन्दै आयोजकले सहभागी, प्रदर्शक, आगन्तुक तथा सम्पूर्ण सरोकारवालासँग क्षमायाचना गरेको छ।
आयोजकले विपत्तिको समयमा सबैको सुरक्षा पहिलो प्राथमिकता भएको भन्दै प्रदर्शनीमा सहभागी हुने तयारीमा रहेका स्वदेशी तथा विदेशी कम्पनी, व्यवसायी र आगन्तुकप्रति सहयोग र सद्भावका लागि आभार व्यक्त गरेको छ।
बाढी–पहिरोले मानवीय क्षतिसँगै व्यापार, पर्यटन, यातायात र औद्योगिक गतिविधिमा समेत प्रभाव पारिरहेको अवस्थामा काठमाडौंको ठूलो अन्तर्राष्ट्रिय व्यापारिक प्रदर्शनी स्थगित हुनुलाई पछिल्लो प्राकृतिक विपत्तिको आर्थिक क्षेत्रमा परेको अर्को प्रभावका रूपमा हेरिएको छ।


