रसुवा बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

रसुवा बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

सोमवार, भाद्र २२ २०८३
सोमवार, भाद्र २२ २०८३
  • images

    काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा सरकारले आज राष्ट्रिय शोक मनाउँदैछ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो।

    राष्ट्रिय शोकका अवसरमा आज नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ।

    प्रहरी प्रधान कार्यालय नक्सालले आइतबार साँझसम्म उपलब्ध गराएको पछिल्लो विवरणअनुसार भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म १ हजार ३५३ जनाको शव फेला परेको छ। यस्तै, ३ हजार ९९२ जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

    फेला परेका शवमध्ये ५३० पुरुष, ३२८ महिला रहेका छन् भने ४९५ वटा शव पहिचान हुन नसकेको अवस्थामा छन्।

    प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार सम्पर्कविहीनमध्ये स्वदेशीतर्फ २ हजार ८२७ पुरुष र ५६७ महिला छन्। यस्तै, विदेशी नागरिकतर्फ २६७ पुरुष र २३९ महिला सम्पर्कविहीन रहेका छन्।

    बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापनको काम सुरक्षा निकायले निरन्तर गरिरहेको छ। हालसम्म फेला परेका शवमध्ये १ हजार ४४ वटा शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ।

    बाढीपछि हालसम्म ९ हजार १५९ जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार १९० जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रवक्ता काफ्लेले जानकारी दिएका छन्।

    बेपत्ता व्यक्तिको पहिचान तथा फेला परेका शवको सनाखतका लागि प्रहरीले डीएनए परीक्षणलाई प्राथमिकता दिएको छ। हालसम्म मृतक १ हजार १८१ जना र मृतकका आफन्त १ हजार १९५ जना गरी कुल २ हजार ३७६ जनाको डीएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ।

    बेपत्ताको खोजी, उद्धार, शव पहिचान तथा व्यवस्थापनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल तथा सम्बन्धित सरकारी निकायका टोली प्रभावित क्षेत्रमा परिचालित छन्।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend