११ जिल्लाका १३ स्थानमा टेलिकमको फोरजी विस्तार, दुर्गम क्षेत्रमा मोबाइल र डेटा सेवा विस्तार, भदौमा थपिए १३ नयाँ साइट

११ जिल्लाका १३ स्थानमा टेलिकमको फोरजी विस्तार, दुर्गम क्षेत्रमा मोबाइल र डेटा सेवा विस्तार, भदौमा थपिए १३ नयाँ साइट

मंगलवार, आश्विन ६ २०८३
मंगलवार, आश्विन ६ २०८३
  • images

    काठमाडौं। नेपाल टेलिकमले भदौ महिनामा देशका विभिन्न ११ जिल्लाका १३ स्थानमा नयाँ टूजी/फोरजी मोबाइल साइट सञ्चालनमा ल्याएको छ।

    दूरसञ्चार सेवाको पहुँच विस्तार तथा गुणस्तर सुधार गर्ने उद्देश्यले नयाँ मोबाइल साइट सञ्चालनमा ल्याइएको टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिए।

    टेलिकमका अनुसार बागमती प्रदेशमा ललितपुर महानगरपालिका–३ कार्यालय र च्याउन्डाँडामा नयाँ साइट सञ्चालन गरिएको छ। चितवनको मोहनपुर तथा गण्डकी प्रदेशअन्तर्गत नवलपुरको पोखरीडाँडा र लमजुङको मध्यनेपालमा पनि नयाँ साइट थपिएका छन्।

    लुम्बिनी प्रदेशमा कपिलवस्तुको धर्मपानी तथा पाल्पाको रामपुर र होङ्सीमा नयाँ साइट सञ्चालनमा आएका छन्। कर्णाली प्रदेशअन्तर्गत जुम्लाको कनकासुन्दरी र सुर्खेत-जुम्लारोडमा पनि मोबाइल साइट थपिएको टेलिकमले जनाएको छ।

    यसैगरी सुदूरपश्चिममा बाजुराको बडिमालिका, डडेल्धुराको गाङ्खेत र दार्चुलाको रिठाचौपाटामा नयाँ मोबाइल साइट सञ्चालनमा आएका छन्।

    नयाँ साइट सञ्चालनसँगै ती क्षेत्रमा मोबाइल तथा डेटा सेवाको पहुँच विस्तार हुनुका साथै सेवा गुणस्तरमा सुधार आउने टेलिकमको भनाइ छ। सेवा नपुगेका तथा थप विस्तार आवश्यक रहेका स्थानमा क्रमशः नयाँ साइट थप्दै जाने टेलिकमको योजना छ।

    सूचना तथा सञ्चार मन्त्रालयले चालु आर्थिक वर्षलाई दूरसञ्चार क्षेत्रको ‘रूपान्तरणको वर्ष’का रूपमा अघि बढाएको छ। सरकारले देशभर फोरजी सेवाको पहुँच विस्तार, टेलिफोन सेवाका प्रयोगकर्ता बढाउने र मोबाइल ब्रोडब्यान्डको पहुँच थप विस्तार गर्ने लक्ष्य राखेको छ।

    डिजिटल प्रविधिमा आधारित सेवा विस्तारमार्फत ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय सञ्चार सेवामा जोड्ने सरकारको उद्देश्य छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend