काठमाडौं। भारतबाट भन्सार छली नेपाल भित्र्याइएको झण्डै १५ लाख रुपैयाँ बराबरको मदिरा नवलपरासी पश्चिमबाट बरामद भएको छ। प्रहरीले सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट गएराति १४ लाख ८४ हजार रुपैयाँ बराबरको मदिरा बरामद गरेको हो।
बरामद मदिरामा ‘ओल्ड मंक’ ब्रान्डका ७५० मिलिलिटरका ७४२ बोतल छन्। प्रहरीले प्रतिबोतल अनुमानित दुई हजार रुपैयाँ मूल्यका आधारमा मदिराको कुल मूल्य १४ लाख ८४ हजार रुपैयाँ कायम गरेको जनाएको छ।
भारतबाट भन्सार छली ल्याइएको मदिरा ११ वटा ठूला हरियो झोलामा राखिएको अवस्थामा फेला परेको हो। गोप्य सूचनाका आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर, दाङ, प्रहरी चौकी रामनगर र इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको संयुक्त टोलीले मदिरा बेवारिसे अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ।
बरामद मदिरा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलाटारीमा राखिएको छ।


