काठमाडौं। भारतको अयोध्या र नेपालको जनकपुरधामलाई सीधा रेलमार्गले जोडिएपछि नेपालका लागि धार्मिक पर्यटनबाट आम्दानी बढाउने नयाँ अवसर खुलेको छ।
भगवान् रामको जन्मस्थल अयोध्या र माता सीताको जन्मस्थल मानिने जनकपुरधामबीच रेल सेवा सुरु हुनुले दुई धार्मिक सहरको आवागमन सहज बनाउनुका साथै भारतीय पर्यटकलाई नेपालसम्म आकर्षित गर्ने सम्भावना बढाएको छ।
तर रेल सेवा सुरु हुँदैमा नेपालको पर्यटन आम्दानी स्वतः बढ्ने छैन। रेलबाट आउने पर्यटकलाई जनकपुरमा कति समय रोक्न सकिन्छ, उनीहरूको खर्च स्थानीय बजारसम्म कसरी पुर्याउन सकिन्छ र जनकपुरलाई अन्य पर्यटकीय गन्तव्यसँग कसरी जोड्न सकिन्छ भन्ने कुराले यसको आर्थिक लाभ निर्धारण गर्नेछ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार संयुक्त रूपमा ‘सरयु–कमला एक्सप्रेस’ रेल सेवाको उद्घाटन गरेका थिए। उद्घाटनपछि अयोध्याबाट सोमबार दिउँसो साढे १२ बजे छुटेको रेल मंगलबार बिहान ९ः४० बजे जनकपुरधाम आइपुगेको हो। रेलमा आएका यात्रुलाई जनकपुरमा फूलमाला र दुवै देशका राष्ट्रिय झन्डासहित स्वागत गरिएको थियो।
करिब ६०४ किलोमिटर दूरीको यो रेल यात्राले अयोध्या र जनकपुरलाई करिब १९ घण्टामा जोड्नेछ। १७ डिब्बा रहेको रेल उत्तर प्रदेश र बिहारका विभिन्न सहर हुँदै जनकपुर पुग्छ। नियमित व्यावसायिक सेवा भने नोभेम्बर २८ अर्थात् मंसिर १२ गतेदेखि सुरु गर्ने तयारी छ। सुरुमा सातामा एकपटक दुवैतर्फ रेल सञ्चालन हुनेछ।
यो रेल सेवा नेपालको पर्यटन क्षेत्रका लागि महत्वपूर्ण हुनुको एउटा कारण अयोध्यामा पछिल्लो समय बढेको पर्यटक आवागमन हो।
भारत सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२४ मा अयोध्या जिल्लामा १६ करोड ४४ लाखभन्दा बढी पर्यटक आगमन भएको थियो। सन् २०२३ मा यस्तो संख्या ५ करोड ७५ लाख थियो। राम मन्दिर निर्माणपछि अयोध्यामा धार्मिक पर्यटकको आवागमन उल्लेख्य रूपमा बढेको भारतीय सरकारको तथ्यांकले देखाउँछ।
भारतको यति ठूलो धार्मिक पर्यटन बजारसँग जनकपुरलाई सीधा रेलमार्गले जोडिनु नेपालका लागि अवसर हो। अयोध्या पुग्ने श्रद्धालुमध्ये केहीलाई जनकपुरसम्म ल्याउन सके त्यसको प्रत्यक्ष लाभ नेपालको पर्यटन व्यवसायले लिन सक्छ। तर अयोध्यामा पुगेका सबै पर्यटक नेपाल आउने वा रेल चढ्ने अनुमान गर्न मिल्दैन। त्यसका लागि छुट्टै पर्यटन प्याकेज, प्रचारप्रसार र सुविधाजनक यात्रा व्यवस्था आवश्यक हुन्छ।
जनकपुर आउने भारतीय पर्यटकले होटलमा बस्ने, खानपिन गर्ने, स्थानीय यातायात प्रयोग गर्ने, धार्मिक सामग्री तथा हस्तकलाका सामान किन्ने र आसपासका क्षेत्र घुम्ने सम्भावना हुन्छ। यसबाट होटल तथा रेस्टुरेन्ट व्यवसायी, यातायात व्यवसायी, स्थानीय पसल, गाइड र साना उद्यमीले आम्दानी गर्न सक्छन्।
विशेषगरी जनकपुरको जानकी मन्दिर, विवाहमण्डप, राम मन्दिर, गंगासागर, धनुषाधामलगायत धार्मिक तथा सांस्कृतिक स्थललाई एउटै पर्यटन प्याकेजमा समेट्न सकिन्छ। यसले पर्यटकलाई केही घण्टामै फर्काउनेभन्दा एक वा दुई दिन जनकपुरमा बस्ने वातावरण बनाउन सहयोग गर्न सक्छ।



