सुनकोशी-मरिण आयोजनाको ठेक्का रद्द प्रकरण : ७ दिनभित्र कागजात बुझाउन लेखा समितिको निर्देशन

सुनकोशी-मरिण आयोजनाको ठेक्का रद्द प्रकरण : ७ दिनभित्र कागजात बुझाउन लेखा समितिको निर्देशन

ठेक्का रद्द गर्ने निर्णयको कानुनी आधार र प्रक्रियाबारे सार्वजनिक लेखा समितिले माग्यो स्पष्टीकरण, कागजात अध्ययनपछि थप छलफल हुने

मंगलवार, मंसिर ९ २०८३
मंगलवार, मंसिर ९ २०८३
  • images
    काठमाडौं। प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द गर्ने निर्णयसँग सम्बन्धित सम्पूर्ण कागजात सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ।

    समितिले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया, ऊर्जा मन्त्रालयका अधिकारीलगायतसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको हो।

    समिति सभापति भरतबहादुर खड्काले सम्बन्धित निकायलाई सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिएका छन्। कागजात प्राप्त भएपछि त्यसको अध्ययन गरी थप छलफल अघि बढाइने उनले बताएका छन्।

    सुनकोशी-मरिण आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरिएको ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेपछि रद्द गरिएको थियो। टेन्डरका सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा ठेक्का रद्द गर्नु प्रक्रियागत रूपमा त्रुटिपूर्ण भएको भन्दै सार्वजनिक लेखा समितिमा उजुरी परेको थियो।

    उजुरीकर्ताले ठेक्का रद्द गर्ने निर्णयले राज्यलाई आर्थिक नोक्सानी पुग्न सक्ने दाबी गरेका छन्। यही विषयमा समितिले सम्बन्धित अधिकारीहरूसँग जवाफ माग्दै छलफल सुरु गरेको हो।

    छलफलका क्रममा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक रजौरियाले ठेक्का रद्द गर्ने निर्णय कानुनसम्मत रहेको दाबी गरेका छन्। तर, समितिले निर्णयको आधार, प्रक्रिया र त्यससँग सम्बन्धित कागजात माग गरेको छ।

    यसअघि पनि आयोजनाको ठेक्का प्रक्रिया रद्द भएपछि त्यसको कानुनी आधार र सार्वजनिक खरिद प्रक्रियाको पालना भएको विषयमा प्रश्न उठेको थियो। सार्वजनिक खरिद नियमावलीको १६औँ संशोधनले १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लागतका जटिल निर्माण आयोजनामा प्राविधिक तथा वित्तीय प्रस्तावको मूल्यांकनका लागि अंकभारमा आधारित विधि अपनाउनुपर्ने व्यवस्था गरेको छ।

    तर, संशोधनपछि पनि पुरानै मूल्यांकन विधिअनुसार टेन्डर प्रक्रिया अघि बढाइएको भन्दै सरकारले नयाँ प्रक्रिया रद्द गरी संशोधित कानुनअनुसार अघि बढाउने निर्णय गरेको थियो। यस विषयमा विभागले कानुनी जटिलता आउन नदिन ठेक्का प्रक्रिया रद्द गरिएको स्पष्टीकरण दिँदै आएको छ।

    आयोजनाको १३.३ किलोमिटर लामो सुरुङ निर्माणको ब्रेक थ्रु २०८१ वैशाख २६ गते भएको थियो। तर, सुरुङ निर्माण सम्पन्न भए पनि बाँध तथा अन्य आवश्यक संरचनाको निर्माण अघि बढ्न नसक्दा आयोजना सञ्चालनमा आउन सकेको छैन।

    सुनकोशी नदीको पानी मरिण खोलामा खसालेर मधेश प्रदेशका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्‍याउने आयोजनाको लक्ष्य छ। साथै, आयोजनाबाट २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसमेत राखिएको छ।

    राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाइएको यो परियोजनामा ठेक्का प्रक्रिया रद्द भएपछि निर्माणको समयतालिका प्रभावित भएको छ। बाँध निर्माणमा ढिलाइ हुँदा निर्माण भइसकेको सुरुङसमेत उपयोगमा आउन सकेको छैन।

    अब सार्वजनिक लेखा समितिले माग गरेका कागजातबाट ठेक्का रद्द गर्ने निर्णयको कानुनी आधार, सार्वजनिक खरिद प्रक्रिया र राज्यलाई पर्न सक्ने आर्थिक प्रभावबारे थप स्पष्टता आउने अपेक्षा गरिएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend