काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘नबिल ग्रोथ फण्ड’ को इकाई बिक्री आज (मंसिर ९ गते) देखि खुला गरेको छ।
कम्पनीले प्रतिइकाई १० रुपैयाँका दरले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन गरेको हो। कुल निष्काशित इकाईमध्ये १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक नबिल बैंक र १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङका लागि छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री गरिनेछ।
यस योजनामा आवेदन दिने लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म खरिदका लागि आवेदन दिन सक्नेछन्। निष्काशनमा छिटोमा मंसिर १४ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिमा मागअनुसार आवेदन नपरे निष्काशनको समय मंसिर २३ गतेसम्म थप हुनेछ।
फण्डको कुल निष्काशित इकाईमध्ये कम्तीमा ५० प्रतिशत अर्थात् ५ करोड इकाई बिक्री हुनुपर्ने व्यवस्था छ। निर्धारित न्यूनतम इकाई बिक्री नभए योजना रद्द हुनेछ। त्यस अवस्थामा आवेदनकर्ताले बुझाएको रकम फिर्ता गर्ने प्रक्रिया १५ दिनभित्र सुरु गरिने कम्पनीले जनाएको छ।
१० वर्ष अवधि रहेको यो बन्दमुखी योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नै रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन्। अनलाइनमार्फत आवेदन दिन चाहनेले मेरो सेयर प्रणाली प्रयोग गर्न सक्नेछन्।
यस योजनाका लागि केयर रेटिङ नेपालले योजना व्यवस्थापकलाई ‘केयर एनपी एएमसी क्वालिटी ३ प्लस’ रेटिङ दिएको छ। उक्त रेटिङले कोष व्यवस्थापनका लागि पर्याप्त आधार रहेको संकेत गर्छ।
त्यसैगरी, कोष प्रवर्द्धक नबिल बैंकले ‘केयर एनपी सिंगल ए प्लस’ रेटिङ प्राप्त गरेको छ। यसले बैंकको वित्तीय दायित्व समयमै पूरा गर्न सक्ने क्षमतामा पर्याप्त सुरक्षा रहेको जनाउँछ।



