कृषिवस्तु निर्यातमा सहजीकरण गर्न चीनलाई नेपालको आग्रह

कृषिवस्तु निर्यातमा सहजीकरण गर्न चीनलाई नेपालको आग्रह

आइतवार, भाद्र १५ २०८२
आइतवार, भाद्र १५ २०८२
  • images

    काठमाडौं । नेपालले चीनमा निर्यात हुने विभिन्न कृषिजन्य वस्तुको भन्सार प्रशासनमा सहजिकरण गर्न आग्रह गरेको छ । 

    प्रधानमन्त्री केपी ओली सरकारी टोलीको नेतृत्व गर्दै चीन जानु अघि सरकारले काठमाडौंमा चिनियाँ अधिकारीहरुसँग गरेको छलफलमा चीन निर्यात हुने भैंसीको मासु, दुग्ध पदार्थ, तरकारी, फलफूल र जडिबुटीका लागि भन्सार प्रशासनमा सहजीकरण र लचकता अपनाउन आग्रह गरेको हो ।

    चीनको भन्सार प्रशासन र कृषि तथा पशुपन्छी मन्त्रालयका उच्च अधिकारीबीच भएको द्विपक्षीय बैठकमा नेपालले गरेको आग्रहलाई चिनियाँ पक्षले सकारात्मकरूपमा लिएको थियो । 

    बैठकमा नेपालको नेतृत्व कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरेका थिए भने चीनको भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनको नेतृत्वमा चिनियाँ टोली सहभागी थियो । 

    नेपालबाट थर्मलरूपमा प्रशोधीत भैंसीको मासु र भैंसीको कार्टीलेज (कुरकुरे हाड) निर्यातका साथै घ्यु, नौनी, वटर तथा छुर्पी चीन निर्यातका लागि कृषि मन्त्रालयले जोड गरिरहेको छ । त्यस्तै हेलेज साइलेज पशु आहरा निर्यातका लागि पनि नेपालले कुरा राखेको छ ।

    नेपालले कुखुराको मासु र पञ्जा, तरकारी, सुन्तलाजन्य फलफूल, चिया तथा कफी र जडिबुटी निर्यातका लागि सक्षम रहेको र यसका लागि थप सहजीकरण गरिदिन पनि चिनियाँ समकक्षीसँग आग्रह गरेको छ । हाल नेपालबाट ३४ प्रकारका कृषि वस्तु ६१ कम्पनीमार्फत निर्यात हुँदै आएको छ । 

    त्यस्तै हरियो घाँस हेलेज पाँच वटा कम्पनीमार्फत चीन निर्यात हुँदै आएको छ । नेपालले पशु आहार साइलेज निर्यातका लागि पनि चीनसँग प्रस्ताव गरेको छ ।

    चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्गले चीनले नेपालबाट कृषि वस्तु निर्यातको विषयलाई उच्च महत्व दिएको बताएका थिए । १०० भन्दाबढी देशबाट यस्ता प्रस्ताव आउने गरेको भएपनि छिमेकी मुलुकको रूपमा नेपाललाई महत्व दिएर प्रयास अघि बढाएको चिनियाँ अधिकारीहरुको भनाइ छ । 

    व्यापार सहजीकरणका लागि दुवै देशको संयुक्त प्रयासले मात्र संभव हुने भन्दै उपमन्त्री वाङ्गले नेपालका प्रधानमन्त्री ओलीको चीन भ्रमणले नेपालले उठाएका विषयले प्राथमिकता पाउन सक्ने बताए । 

    बैठकमा कृषि मन्त्री अधिकारीले नेपालबाट मासु निर्यातका लागि आधारभूत सर्त खोरेत मुक्त क्षेत्र घोषणालगायतका प्रक्रियादेखि चीनको क्वारेन्टाइन मापदण्ड पूरा गर्न प्रयास भइरहेको र सुन्तला जातका फलफूल निर्यातका केही सर्तमा लचकता अपनाइदिन समेत चिनियाँ पक्षलाई आग्रह गरेका थिए । 

    नेपालको कृषि उपज निर्यातका लागि सहजीकरण गर्न दुवै मुलुकको संयुक्त संरचना स्थापना गर्न नेपालले गरेको प्रस्तावमा चिनियाँ पक्षले सहमति जनाएको छ ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend