काठमाडौं । मुस्ताङको कोरोला नाका आगामी सोमबारदेखि सञ्चालनमा आउने भएको छ । रसुवाको रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाकाको विकल्पको रुपमा कोरोला नाका खुला गर्न लागिएको हो ।
भन्सार विभागका अनुसार कोरोला नाका सञ्चालनका लागि नेपाल र चीन दुवै पक्ष सहमत भइसकेका छन् ।
व्यावसायिक रुपमा कोरोला नाका पहिलो पटक खुल्न लागेको हो । यसअघि सिजनल रुपमा मुस्ताङका स्थानीयलाई लक्षित गरी सो नाका सञ्चालन हुने गरेको थियो ।
विभागले भन्सार प्रणालीका लागि आवश्यक सबै प्रक्रिया पूरा गरिसकेको जनाएको छ । सो नाका सञ्चालनका लागि चार जना कर्मचारी पनि खटाइसकेको छ ।
विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले क्वारेन्टाइन बाहेकका सामान सोमबारदेखि नेपाल भित्रिने बताए । ‘क्वारेन्टाइन बनिसकेको छैन । यसबाहेक अन्य सामान मात्र भित्रिने छैनन्’ उनले भने, ‘गार्मेन्टजन्य सामान बोकेका केही कन्टेनर कोरोला आइपुगेका छन् ।’
कोरोलाबाट लत्ता कपडा, विद्युतीय सामग्रीलगायतका सामान भित्रिने विभागले जनाएको छ । कन्टेनर भित्र्याउने बारे व्यवसायीहरुसँग चरणवद्ध छलफल भएको विभागको भनाइ छ । यो नाकाबाट सामान भित्र्याउँदा रसुवागढी र तातोपानी नाकाभन्दा ढुवानी लागत केही महंगो पर्ने उनले बताए । तर समुद्री मार्गको भन्दा महंगो भने नपर्ने बताइएको छ ।
बाढी पहिरोका कारण रसुवागढी नाका गत असार २४ गतेदेखि बन्द छ । यसले गर्दा दसैंका लागि ल्याउन लागिएका सयौं कन्टेनर सामान चीनको केरुङमै रोकिएका छन् । अब चीनतर्फ रहेका कन्टेनर कोरोला नाका हुँदै नेपाल प्रवेश गर्ने छन् ।
कोरोला नाकाबाट नेपालतर्फको बाटो साँघुरो भएकाले मझौला खालका कन्टेनरले मात्र सामान ल्याउने छन् । चीनतर्फ भने अत्याधुनिक भन्सार कार्यालयदेखि दुईतर्फी कालोपत्रे सडक बनिसकेका छन् ।
रसुवागढी र तातोपानी नाका बन्द भएपछि दसैंका सामा भित्र्याउन नपाएका व्यवसायीले फेन्सी बजारका चिनियाँ मालवस्तु हवाइ जहाजमा कार्गो र केही समुद्री मार्गबाट कोलकत्ता हुँदै नेपाल ल्याउन थालिसकेका छन् । यसरी लामो प्रक्रियाबाट ढुवानी गर्दा लागत बढेको मात्र छैन सामान आइपुग्ने समय पनि लम्बिएको छ ।


