जनकपुरधाम । माओवादी द्वन्द्वकालदेखि सुरक्षाको कारण देखाउँदै बन्द रहेको महोत्तरीका चार वटा छोटी भन्सार कार्यालय हालसम्म सञ्चालनमा नआउँदा फुटकर तथा साना व्यवसायी मारमा परेका छन् ।
माओवादी सशस्त्र द्वन्द्व उत्सर्गमा पुगेको बेला असुरक्षाको कारण देखाउँदै महोत्तरीको रघुनाथपुर, कटिकटैया, पोखरभिण्डा र बथनाहा छोटी भन्सार कार्यालय बन्द गरिएको थियो । तर ती भन्सार कार्यालयहरु हालसम्म सुचारु नहुँदा सरकारको लाखौं रुपैयाँ राजस्व गुम्दै छ भने साना तथा फुटकर व्यवसायी मारमा परेका छन् ।
बन्द रहेका छोटी भन्सार कार्यालय सुचारु नहुँदा सोही नाका प्रयोग गरेर अत्यधिक तस्करीका सामान नेपाल भित्रिने गरेको स्थानीयको भनाइ छ ।
भारतीय सीमासँग जोडिएको महोत्तरीका ती भन्सारहरु पुनः सञ्चालन गर्नुपर्ने स्थानीय व्यापारीको माग छ । पछिल्लो समयमा बन्द रहेको नाकाबाट बिना रोकटोक सामान ल्याउने गरेको त्यस क्षेत्रका व्यापारीको भनाइ छ ।
छोटी भन्सार सञ्चालन नहुँदा सो नाकामा सुरक्षाकर्मीले भारतबाट ल्याउने सामान पक्राउ गर्ने भएकोले संघीय सरकारले बन्द रहेको कार्यालय तुरुन्त सञ्चालन गर्नुपर्ने व्यापारीहरुको माग छ ।
जलेश्वर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र बस्नेतले भन्सार ऐन सक्रिय भए मात्र बन्द रहेका छोटी भन्सार कार्यालय सञ्चालनमा आउने बताए । छोटी भन्सार कार्यालय बन्द भएपछि भारतबाट सामान ल्याएर व्यावसाय गर्ने व्यापारीलाई जिविकोपार्जन गर्न समस्या भएको स्थानीय व्यापारी कपिलदेव बैठाको भनाइ छ ।
छोटी भन्सार सञ्चालनमा नआउँदा भारतबाट ल्याउने सामानको भन्सार कटाउन करीब ५० किलोमिटर बाटो छिचोल्दै जलेश्वर भन्सार पुग्नुपर्ने बाध्यता छ ।


