आक्रमणमा परेको निजी क्षेत्र उकास्न सरकारले विचार गर्छः प्रधानमन्त्री कार्की

आक्रमणमा परेको निजी क्षेत्र उकास्न सरकारले विचार गर्छः प्रधानमन्त्री कार्की

आइतवार, भाद्र २९ २०८२
आइतवार, भाद्र २९ २०८२
  • images

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनकारीले निजी क्षेत्रमाथि गरेको आक्रमणले ठूलो असर परेको बताएकी छन् । 

    आइतबार पद बहाली गर्ने क्रममा विभिन्न मन्त्रालयका सचिवहरुलाई निर्देशन दिँदै नवनियुक्त प्रधानमन्त्री कार्कीले व्यापारीको सम्पति जलाउने काम भएको भन्दै त्यसबाट ठूलो असर परेको बताएकी हुन् ।  

    उनले उनीहरुलाई एक्लै छोड्न नमिल्ने बताइन् । ‘व्यक्तिको सम्पति, व्यापारी, उद्योगीहरूको सम्पति पनि डढाउने, मास्ने काम भएको छ,’ उनले भनिन्, ‘तिनलाई पनि हामीले जसरी उभिन्छौं, उभेउ भन्न भएन ।’

    यसमा राज्यले कसरी सहयोग गर्न सक्छ भन्नेमा विचार गर्नेसमेत उनले बताइन् । ‘व्यक्तिगत सम्पतिको क्षति भएर कतिपय व्यापारीहरू त उठ्न नसक्ने भएका छन्,’ कार्कीले भनिन्, ‘त्यसमा पनि राज्य विचार गर्छ । हामी विचार गर्छौं कि उनीहरुलाई कसरी उठाउने ?’

    उनले अगाडि भनिन्, ‘कुन सहयोग दिने ? बैंकको सस्तो ऋणबाट हुन्छ कि अरु केहीबाट हुन्छ ।’
    आगजनीबाट साना व्यापारीलाई पनि क्षति भएको कार्कीको भनाइ छ । ‘सटर खोलेका साना साना व्यापारी पनि लुटिएका छन्,’ उनले भनिन्, ‘मैले समाचारमा पनि सुनें–जो व्यापारीको क्षति भएको छ, उहाँहरुलाई हामी फेरि उठाउने कोसिस गर्छौं । हामी हार्दैनौँ ।’

    दुःखका बेलामा व्यापारीले आन्तरिक बल देखाएको भन्दै प्रधानमन्त्री कार्कीले धन्यवाद दिइन् । उनले सरकार अहिले कठिन आर्थिक अवस्थामा रहेकाले मितव्ययी र पारदर्शी बन्न पनि कर्मचारीलाई आग्रह गरिन् । 

    जेनजी आन्दोलनका क्रममा भदौ २४ गते उद्योग व्यवसायमा तोडफोड, लुटपाट र आगजनी भएको थियो । उद्योगी व्यवसायीका निजी आवासमा पनि लुटपाट र आगजनी भएको थियो । 

    त्यस क्रममा भाटभटेनी सुपरस्टोरका विभिन्न १२ शाखामा लुटपाट र आगजनी भएको थियो भने थप ९ वटा स्टोरमा तोडफोड र लुटपाट भएको थियो । यस्तै गाडीका शोरुमदेखि तारे होटल पनि आन्दोलनकारीको निशानामा परेका थिए । 

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend