काठमाडौँ । काठमाडौँमा सार्वजनिक यातायातमा यात्रुहरूले भाडा तिर्दा ठगीमा पर्ने गरेको पाइएको छ। यात्रुहरूले दैनिक रूपमा भुक्तानी गर्दा चानचुन पैसाको अभावका कारण व्यवसायीहरुले ठूलो रकम असुलिरहेका छन्।
सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रुहरूले भोग्नुपर्ने सास्ति कुनै सजायभन्दा कम हुँदैन। गाडीमा चढ्दा भाडाको विषयमा हुने विवाद, सिटको अभाव, असुविधाजनक यात्रा, र व्यवसायीको गैरजिम्मेवार व्यवहारले यात्रुहरू निरन्तर समस्यामा छन्। यात्रुहरूले घण्टौंसम्म उभिएर यात्रा गर्नुपर्ने बाध्यता छ।
विशेषगरी चाडबाँडका बेला व्यस्त समयमा त झन गाडीहरूमा ठेलमठेल हुन्छ। त्यसमाथि सार्वजनिक यातायात व्यवसायीहरूको गैरजिम्मेवार व्यवहारले यात्रुहरूको सास्ती अझ बढाएको छ। यसैबीच भाडा तिर्दा पनि चानचुन पैसा नभएको बाहानामा यात्रुले ठगिनु दुःखद रहेको विज्ञहरूको भनाइ छ।
यातायात विज्ञ आशिष गजुरेलको अनुमानलाई आधार मान्ने हो भने मात्रै पनि काठमाडौँमा मात्र दैनिक करिब २० लाख ट्रिप हुने सार्वजनिक यातायातमा आधा यात्रुले एक रुपैयाँ बढी तिर्नुपरे पनि कम्तीमा १० लाख रुपैयाँ यात्रुबाट बढी असुल भइरहेको छ ।
गजुरेलले सार्वजनिक यातायात नाफामुखी व्यवसाय नभए पनि नेपालमा पूर्णतया निजी क्षेत्रलाई जिम्मा लगाइएका कारण यात्रुहरू निरन्तर घाटामा रहेको बताएका छन् ।
“१९, २३ वा ३३ रुपैयाँ जस्ता भाडा तिर्दा यात्रुसँग चानचुन पैसा हुँदैन, न त गाडीवालासँग हुन्छ” गजुरेलले भने, “यो समस्याको स्थायी समाधान भनेकै डिजिटल कार्ड सिस्टम हो।”
उनले यात्रुहरूमाथि भइरहेको यस्तो ठगीको अन्त्य गर्न डिजिटल कार्ड प्रणाली लागू गर्नुपर्ने बताए।
ठूला व्यवसायीले दैनिक कारोबारमा चानचुनको व्यवस्था गरेर कारोबार गर्ने गरेको उल्लेख गर्दै उनले सार्वजनिक यातायात व्यवसायीले पनि त्यस्तो व्यवस्था गर्न सक्ने भए पनि नियतवश नगरेको बताए । “यो यात्रु ठग्ने प्रवृत्ति हो,” उनले भने, “यदि व्यवसायीले चाह्यो भने हरेक दिन हजारौं रुपैयाँ साटेर राख्न गाह्रो हुँदैन।”
गजुरेलका अनुसार डिजिटल कार्ड प्रणाली मोबाइल कार्डजस्तै सहज हुन्छ । यात्रुले प्रिपेड कार्ड बोकेर हरेक गाडीमा राखिने डिभाइसमा ट्याक गर्नुपर्ने हुन्छ । यसरी यात्रुहरूले सहजै भाडा तिर्ने र गाडीवालाले सिधै रकम पाउने हुँदा विवाद रहँदैन ।
उनले तत्काल साझा यातायातमा डिजिटल कार्ड प्रणाली लागू गरेर सफल बनाउने,त्यसपछि छ महिनाभित्र निजी सञ्चालकहरूलाई पनि अनिवार्य रूपमा लागू गर्नुपर्ने सुझाव दिएका छन् ।
“डिजिटल भुक्तानीको अर्को विकल्प छैन,” गजुरेलले भने, “अब यात्रुलाई ठग्ने परिपाटी अन्त्य गर्न यही बाटो अपनाउनु अपरिहार्य छ ।”
यातायात विज्ञ आशिष गजुरेलले उनकै शब्दमा १२ बुँदामा यात्रुहरू माथि भइरहेको ठगीलाई उजागर गर्दै समाधानका उपाय समेत सुझाएका छन्। :
१. हरेक दिन काठमाडौँमा मात्र सार्बजनिक यातायातमा कम्तिमा पनि २० लाख ट्रीप हुन्छ, ५० % संग खुजुरा नभएर १ रुपैया मात्र पनि बढी तिर्दा पनि हरेक दिन १० लाख रुपैया यात्रु बाट उठाइन्छ। यो सानो रकम हो र ?
२. सार्वजनिक यातायात भनेको संसारभर नाफा कमाउने व्यवसाय होइन । तर, हामीकहाँ व्यवसायीलाई तिमीहरु नै लगानी गर तिमीहरु नै नाफा गर भनेर छोडेको अवस्था छ ।
३. अहिले १९, २३, ३३, रुपैयाँ भाडा तिर्दा कसरी तिर्ने ? न गाडीवालासँग चानचुन छ न यात्रुसँग । त्यसकारण यो अलि गाह्रो अवस्था हो । त्यसकारण अब गाडीको भाडा पनि विद्युतीय माध्यम प्रयोग गरी तिर्न मिल्ने व्यवस्था अपनाउनु पर्छ । अब कार्ड सिस्टम लागू गर्नुपर्यो नत्र यो समस्या रहिरहन्छ ।
४. अहिलेको समस्या भनेको चानचुन पैसा नबोक्नु नै हो । हुन त चानचुन पैसाको व्यवस्था गर्न नै नसकिने भन्ने चाहिँ होइन । टेम्पोवाला अनि भाटभटेनी तथा बिगमार्ट जस्ता दैनिक लाखौँ रुपैयाँको व्यापार गर्नेहरुले चानचुन पैसाको व्यस्था गरेरै व्यापार गरिरहेका छन् । त्यहाँ त एक रुपैयाँ छैन र दुई रुपैयाँ छैन भन्ने हुँदैन । ठूला व्यापारीले त चानचुन पैसाको व्यवस्था गरेका छन् भने गाडीवालाहरुले व्यवस्था गर्न नसक्ने भन्ने होइन ।
५. व्यवसायीले चानचुन पैसाको व्यवस्था नगर्दा यात्रुलाई धेरै घाटा र उनीहरुलाई नाफा भइरहेको अवस्था छ । यो व्यवसायीको पनि बदमासी हो । हरेक दिन व्यवसायीले एक हजारको सिक्का साटेर राख्ने हो भने नपुग्ने भन्ने नहोला । नपुगे दुई हजारको पनि सिक्का साट्न सकिन्छ नि ।
६. यसलाई सरकारले अलि कडाइ गर्ने हो भने व्यवस्था गर्न नसकिने भन्ने चाहिँ होइन । यसमा कहिलेकाहीँ यात्रुले चानचुन पैसाको व्यवस्था गर्ने भनेको पनि सुनिन्छ । तर, त्यो त्यति व्यवहारिक होइन । जस्को जे काम हो त्यही गर्ने हो । उसोभए त भाटभटेनी जस्ता सुपरमार्केटले पनि उपभोक्तालाई सिक्का बोकेर आउ भन्ने हो र ? यसको समाधान भनेकै कार्ड सिस्टममा जाने हो ।
७. कार्डको व्यवस्था गर्न गाह्रो छैन । यसमा मोबाइलको कार्ड बोके जस्तै हो । प्रिपेड कार्ड यात्रुले किनेर बोक्ने हो । त्यसो गर्दा कार्डबाट कति पैसा तिर्ने हो तिर्यो सकियो । यसमा यात्रुको पैसा धेरै जाने भन्ने पनि भएन । गाडीवालाले पैसा छोड्नुपर्ने भन्ने पनि भएन । यसमा एउटा गाडीमा एउटा डिभाइस राख्ने अनि कार्ड डिभाइसमा राखेर पैसा कटाउन सकिन्छ।
८. जाने भनेको यही कार्ड सिस्टममा नै हो । अहिले जाने कि दश वर्षपछि जाने भन्ने मात्रै हो ।
९. पहिले पहिले मोबाइल आएको बेलामा पनि कसरी चलाउने भन्ने थियो । बिस्तारै चलाउन सिके, जाने भइहाल्यो नि त । अहिले त सबैले मोबाइल चलाउँछन् । फेसबुक चलाउँछन् । सुरु सुरुमा अलि गाह्रो होला बिस्तारै सिक्दै र बानी पर्दै जान्छ । यो सिस्टम लागू गरेपछि मान्छे बिस्तारै अपडेट भइहाल्छन नि ।
समाधानका उपाय : अब के गर्न सकिन्छ त ?
१०. साझा यातायात राज्य को लगानी भएको हुदा, तुरुन्तै डिजिटल कार्ड सुरु गर्ने। सफल बनाउने।
यो सफल भए पछि ६ महिनामा अन्य संचालक लाई पनि लागु गर्न लगाउने।
११. काठमाडौँबाट सफल प्रयोग भएको अनुभब भए पछि अन्य सहरहरुमा सुरु गर्ने।
१२. डिजिटल भुक्तानीको अर्को विकल्प छैन, यात्रु ठगिनु भएन।


