३ हजारको सामान किन्दा सन्तमायालाई पर्‍यो १० लाखको बम्पर उपहार

३ हजारको सामान किन्दा सन्तमायालाई पर्‍यो १० लाखको बम्पर उपहार

आइतवार, कार्तिक २ २०८३
आइतवार, कार्तिक २ २०८३
  • images

    काठमाडौं। नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा १० लाख रुपैयाँको बम्पर उपहार जितेकी छन्। सरकारले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत तामाङ असोज महिनाको दोस्रो पाक्षिककी बम्पर विजेता बनेकी हुन्।

    तामाङले नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट दसैँका लागि ३ हजार रुपैयाँको सामान खरिद गरेकी थिइन्। सो क्रममा उनले प्राप्त गरेको बिलको नम्बर ०८१६३२५१५८४९ बम्पर पुरस्कारका लागि छनोट भएको हो।

    आन्तरिक राजस्व विभागले असोज १६ देखि ३१ गतेसम्मको अवधिका लागि आइतबार काठमाडौंको न्युरोडस्थित विशाल बजार परिसरमा पुरस्कार घोषणा कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले विजेता छनोट तथा घोषणा गरेका थिए।

    विजेता घोषणा भएपछि कलाकारद्वयले तामाङलाई फोन गरेर १० लाख रुपैयाँको बम्पर उपहार जितेको जानकारी गराएका थिए।

    सामान्य किनमेलका क्रममा प्राप्त बिलका आधारमा ठूलो रकमको पुरस्कार जितेकी तामाङको जितले उपभोक्ताले सामान खरिद गर्दा बिल लिनुपर्ने महत्त्वलाई पनि उजागर गरेको छ। बिल लिने र त्यसको विवरण प्रणालीमा प्रविष्ट गर्ने उपभोक्तालाई पुरस्कारको अवसर उपलब्ध गराउने उद्देश्यले सरकारले यो कार्यक्रम सञ्चालन गरेको हो।

    आन्तरिक राजस्व विभागका अनुसार असोजको दोस्रो पाक्षिकमा एक जना बम्पर विजेतासहित १७ जना उपभोक्ता छनोट भएका छन्। बम्पर विजेता तामाङले कर कट्टीअघि १० लाख रुपैयाँ पाउनेछिन्। प्रचलित करकट्टीपछि उनले हातमा पाउने रकम ७ लाख ५० हजार रुपैयाँ हुनेछ।

    बम्पर पुरस्कारबाहेक असोज १६ देखि ३१ गतेसम्मका प्रत्येक दिनका लागि एक–एक जना गरी १६ जना उपभोक्ताले पनि पुरस्कार जितेका छन्। उनीहरूले कर कट्टीपछि जनही एक लाख रुपैयाँ प्राप्त गर्नेछन्।

    करदाता प्रोत्साहन उपहार कार्यक्रममार्फत सरकारले उपभोक्तालाई खरिद गर्दा बिल लिन प्रोत्साहित गर्नुका साथै व्यवसायीलाई कारोबारको बिलबिजक जारी गर्ने अभ्यासमा जोड दिएको छ। कारोबारको अभिलेख व्यवस्थित हुँदा कर प्रशासनलाई वास्तविक आर्थिक गतिविधि पहिचान गर्न र कर प्रणालीलाई पारदर्शी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    विजेता तामाङसहित सबै पुरस्कार विजेताले पुरस्कार दाबी गर्न आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ। आन्तरिक राजस्व विभागले तोकेको प्रक्रियाअनुसार खरिदको बिलसहित नजिकको आन्तरिक राजस्व कार्यालयमा सम्पर्क गरी कात्तिक १५ गतेभित्र पुरस्कार दाबी गर्नुपर्ने व्यवस्था रहेको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend