काठमाडौं । चीनका पूर्व कृषिमन्त्रीलाई भ्रष्टाचारको आरोपमा मृत्युदण्ड सुनाइएको छ। पूर्वकृषि तथा ग्रामीण मामिलामन्त्री ताङ रेनजियानलाई घुसखोरीको आरोपमा जिलीन प्रान्तको एक अदालतले आइतबार मृत्युदण्डको सजाय सुनाएको हो। तथापि, यसको कार्यान्वयन दुई वर्षका लागि स्थगित गरिएको सरकारी समाचार एजेन्सी सिन्ह्वाले दिएको छ ।
सिन्ह्वाका अनुसार, ताङले सन् २००७ देखि २०२४ सम्म विभिन्न पदमा रहँदा नगद र सम्पत्तिसहित ४३ करोड ७६ लाख अमेरिकी डलरभन्दा बढी मूल्यको घुस लिएको प्रमाणित भएको छ । चाङ्चुन मध्यवर्ती जनअदालतमा उनले आफ्नो अपराध स्वीकार गरेकाले उनको मृत्युदण्डको सजायलाई दुई वर्षका लागि निलम्बन गरेको सिन्ह्वाले जनाएको छ ।
भ्रष्टाचारविरोधी निकायले अनुसन्धान सुरु गरेको ६ महिनापछि र पदबाट हटाइएको लगत्तै चीनको कम्युनिस्ट पार्टीले नोभेम्बर २०२४ मा ताङलाई निष्कासित गरेको थियो । ताङमाथि भएको यो अनुसन्धान असामान्य रूपमा तीव्र गतिमा गरिएको बताइएको छ । यसबाहेक रक्षामन्त्री ली शाङ्फु र ताङका पूर्ववर्ती वेई फेङ्हेमाथि भएका यस्तै अनुसन्धानहरू पछि भएको हो ।
राष्ट्रपति शी जिनपिङले २०२० मा चीनको आन्तरिक सुरक्षा निकायमा शुद्धीकरण अभियान सुरु गरेका थिए, जसको उद्देश्य प्रहरी, अभियोजनकर्ता र न्यायाधीशहरूलाई पूर्ण रूपमा वफादार, पूर्ण रूपमा शुद्ध र पूर्ण रूपमा विश्वसनीय सुनिश्चित गर्नु थियो ।
आधिकारिक जीवनीअनुसार, ताङ कृषि तथा ग्रामीण मामिलामन्त्रीमा नियुक्त हुनुअघि २०१७ देखि २०२० सम्म पश्चिमी प्रान्त गान्सुका गभर्नर समेत थिए । यसै वर्षको जनवरीमा सीले भ्रष्टाचार चीनको कम्युनिस्ट पार्टीका लागि सबैभन्दा ठूलो खतरा रहेको र यो बढ्दै गएको बताएका थिए ।


