काठमाडौँ। आन्तरिक राजस्व विभागले कर प्रशासन सम्बन्धी कुनै गुनासो भएमा गुनासो टिपाउन अनुरोध गरेको छ। विभाग र सो अन्तर्गतका कार्यालयहरूबाट प्रवाह हुने सेवामा करदाताको कुनै गुनासो भएमा सो गुनासोलाई तत्काल सम्बोधन गर्नका लागि राजस्व विभागले गुनासो टिपाउने व्यवस्था गरेको हो।
कर प्रशासनसँग सम्बन्धित करदाताका विभिन्न समस्या, सुझाव, सल्लाह, प्रतिक्रियाहरू समेट्दै करदाताको गुनासो सम्बोधन गर्ने उद्देश्यका साथ विभागले गुनासो टिपाउनका लागि सम्पर्क नम्बर पनि उपलब्ध गराएको सूचना अधिकारी वासुदेव पौडेलले बताए ।
ट्याक्स खबरसँग कुरा गर्दै उनले भने, “फोकल पर्सन तोकेका छौँ । करदाताका गुनासाहरू, सुझाव, सल्लाह, प्रतिक्रियाहरू जे छन् सम्पर्क नम्बर ९७६२११९७५९ मा टिपाउन सक्नुहुनेछ। विभागले सम्बोधन गर्नेछ।”
यसैगरी करदाताले आफ्ना गुनासोहरू gunaso@ird.gov.np मा इ-मेल मार्फत पनि टिपाउन सक्ने व्यवस्था गरिएको छ।


