काठमाडौँ। नेपालले विद्युत निर्यातबाट तीन महीनामै १५ अर्ब रुपैँया आम्दानी गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि हालसम्म करिव १५ अर्ब बराबरको विद्युत निर्यात भएको नेपाल विद्युत प्राधिकरणले जनाएको हो।
नेपालले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत दैनिक रुपमा औसतमा एक हजार मेगावाट निर्यात गरिरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बताए।
उनले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिष्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री भइरहेको बताएका छन् । सिलवालकाअनुसार भारतको प्रशारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि दैनिक रुपमा ४० मेगावाट विद्युत निर्यात भइरहेको छ ।
भारतसँगको विद्यु् व्यापार भारतीय रुपैयाँ (भारु)मा र बंगलादेशसँग अमेरिकी डलरमा हुने गरेको छ । त्यसैले विद्युत विक्रीबाट भारु र डलर आम्दानी भइरहेको छ । प्राधिकरणले भारत र बंगलादेश गरी ११६५ मेगावाट विद्युत निर्यात स्वीकृति पाएको उनको भनाइ रहेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र शहरी विकासमन्त्री कुलमान घिसिङले छिनछिनमा बत्ति जाने समस्या हटाउन निर्देशन दिएका छन् ।
घिसिङले नेपाल विद्युत प्राधिकरण मातहतको विद्युत भार प्रेषण केन्द्रको गत सोमबार साँझ अनुगमन गरेका थिए । बाढी, पहिरोले क्षति पुर्याएका संरचनाको मर्मतसम्भार गरी तत्काल विद्युत सेवा चालु गराउनुपर्ने बताउँदै घिसिङले छिनछिनमा बत्ति जाने गुनासो तत्काल सम्बोधन गर्नुपर्ने कुरालाई उच्च प्राथमिकतामा राखी सोही बमोजिम मातहतका कार्यालयलाई तयारी अवस्थामा राख्न आग्रह समेत गरेका छन् ।


