राजनीतिक अस्थिरताको फाइदा उठाउँदै सामुदायिक वनमा बढ्न थाल्यो चोरी निकासी

राजनीतिक अस्थिरताको फाइदा उठाउँदै सामुदायिक वनमा बढ्न थाल्यो चोरी निकासी

ट्याक्स खबर
शुक्रवार, आश्विन २४ २०८२
ट्याक्स खबर
शुक्रवार, आश्विन २४ २०८२
  • images

    काठमाडौँ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ फुलेलीस्थित वैजनाथ सामुदायिक वन उपभोक्ता समूहको वनका वन्यजन्तु र वन पैदावार चोरी–निकासीका घटना बढेका पाइएको छ । 

    सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराका अनुसार राजनीतिक अस्थिरताको फाइदा उठाउँदै केही व्यक्तिहरू र समूहहरूले घरेलु हातहतियार, भरुवा बन्दुक र कुकुरको प्रयोग गरी वन्यजन्तु शिकारी तथा वन्यजन्तुका बच्चा समाउँदै आएका छन् । 

    साथै उनीहरूले वन सिमानाका तारबार भत्काउने, अनुमति पुर्जी नलिई घाँस, दाउरा, डालेघाँसलगायत वन पैदावार सङ्कलन गर्ने र सामुदायिक वन क्षेत्रभित्रलाई अनधिकृत चरिचरनका रूपमा बारम्बार प्रयोग गरिरहेका छन् ।

    “वन क्षेत्रभित्र रहेका नदीनालामा घातक विषादी र विद्युत् उपकरण प्रयोग गरी माछा मार्ने र नदीमा करेन्ट प्रवाह गर्ने कार्यले वन्यजन्तु तथा जलचर प्रजातिको जीवनमा गम्भीर असर पारेको छ।” उनले भने, “सामुदायिक वनभित्र चोरी शिकारी नियन्त्रण गर्न जडान गरिएका सिसिटिभी क्यामेरा, सौर्य बत्ती र निगरानीका अन्य उपकरण तोडफोड गरिएको छ ।”

    सामुदायिक वन क्षेत्रभित्र राति र दिउँसो सवारीसाधन प्रवेश गरी वन्यजन्तु शिकारी, अवैध बालुवा उत्खनन र रातो माटो उत्खनन भइरहेको उनले उल्लेख गरे । 

    अध्यक्ष महराले भने, “सार्वजनिक सूचना प्रकाशित गरी सम्बन्धित निकाय र स्थानीयलाई गैरकानुनी कार्य नगर्न आग्रह गरेका छौँ, त्यस्ता कार्य जारी रहे वन ऐन, २०७६ र समूहको विधानअनुसार कारबाही गर्न बाध्य हुनेछौँ ।”

    सामुदायिक वनका पदाधिकारीहरूले डिभिजन वन कार्यालय, स्थानीय प्रशासन र प्रहरीलाई वन पैदावार र वन्यजन्तुको चोरी शिकारी नियन्त्रणमा लाग्न आग्रह गरेका छन् । 

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend