काठमाडौं। सुन तस्करीको आरोपमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध आजदेखि थुनछेक बहस हुने भएको छ। हिजाे सोमबार सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दर्ता गराएसँगै आजदेखि महराविरुद्ध थुनछेक बहस हुने भएको हो।
सुन तस्करी प्रकरणमा महराविरुद्ध ८ करोड ५५ लाख बिगो र ३ वर्ष कैदसजाय माग दाबी गरिएको छ। महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार खुमलटारबाट इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न पक्राउ गरेको थियो भने म्याद थप गर्न सरकारी वकिलमार्फत काठमाडौं जिल्ला अदालत लगिएको सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठले बताएका थिए।
महरालाई सीआईबीले २०८० चैत ५ मा पनि पक्राउ गरे पनि राजनीतिक आडमा हाजिरी जमानीमा रिहा गरिएका थिए। जेनजी आन्दोलनले सरकार बदलिएसँगै महरा १८ महिनापछि पुनः पक्राउ परेका हुन्। सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण जाँचबुझ आयोगले महारालाई सुन तस्करीमा दोषी ठहर गरेर पुनः मुद्दा चलाउन सिफारिस गरेको थियो।
भेपमा सुन ल्याउने गिरोहका चिनियाँ सुन तस्कर दाओजिन वाङसँग ‘कनेक्सन’ देखिएपछि सुन तस्करी जाँचबुझ आयोगले उनलाई संगठित तस्करी गरेको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको हो। चिनियाँ नागरिक लि हासोङले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको ७३० वटा भेप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जफत गरेपछि महरा र उनका छोरा राहुलले छुटाउन भूमिका खेलेको दाबी गरिएको छ।
चिनियाँ सुन तस्कर दाओजिन वाङसँगको सम्पर्कको कारण महरा सुन तस्करीमा संलग्न देखिएको सीआइबीको अनुसन्धान निष्कर्ष छ । सरकारी वकिल र सीआईबीका अनुसन्धान अधिकृतहरूसँगको बयानमा महराले वाङसँगको आफ्नो ‘कनेक्सन’ स्विकारेका छन् ।
महराले भने आफु सञ्चारमन्त्री भएको बेला चिनियाँ नागरिक वाङ आफूलाई बधाई दिन आएको र त्यसबेलादेखि नै उनलाई चिनेको बताएका छन् । ‘म सञ्चार मन्त्री हुँदा चिनियाँ नागरिक वाङ फलफूल लिएर मलाई बधाई दिन आएका थिए, सोही बेला मैले निजलाई चिनेको हुँ’ उनले बयानमा भनेका छन्, ‘आफू फलफूल व्यापारी हुँ भनी चिनाएको हुँदा मैले फलफूल व्यापारीको रूपमा मात्र निजलाई चिनेको हुँ ।’
वाङले विद्युतीय सामग्रीको व्यापार गर्नेबारे आफूलाई थाहा नभएको उल्लेख गर्दै महराले भनेका छन्, ‘निजको व्यापारमा मेरो कुनै पनि प्रकारको साझेदारी छैन ।’
लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन दाओजिन वाङको समूहले पठाएको सीआईबीको अनुसन्धान निष्कर्ष छ । वाङ फरार छन् । त्यसबेला सो भेप छुटाउन महराले विमानस्थल भन्सार कार्यालयका तत्कालीन भन्सार प्रमुखलाई दबाब दिएका थिए ।


