काठमाडौँ। नेपालमा हिमाल आरोहणबाट हरेक वर्ष करोडौँ रुपैयाँमा राजस्व सङ्कलन हुने गरेको छ। पर्यटन विभागको तथ्याङ्कअनुसार पछिल्लो समय हिमाल आरोहणमा आकर्षण पनि तीव्र रूपमा बढ्दै गएको देखिन्छ। हिमाल आरोहणका लागि सरकारले सलामी दस्तुर (कर) तोकेको छ।
सरकारले गत सेप्टेम्बर १ देखि हिमाल आरोहणका लागि नयाँ दररेट निर्धारण गरेको छ। सरकारले तोकेको सलामी दस्तुर पर्वतारोहण नियमावली, २०५९ अन्तर्गत अनुसूची–४ मा उल्लेख गरिएको छ। यस अनुसार आरोहणको शुल्क हिमालको उचाइ र आरोहण ऋतु (बसन्त, शरद, शिशिर र बर्षा) अनुसार फरक–फरक तोकिएको छ। यस्तै, विदेशी र नेपाली पर्वतारोहीका लागि पनि छुट्टाछुट्टै दर निर्धारण गरिएको छ।
कुन हिमाल चढ्दा कति कर लाग्छ ?
नेपालमा सबैभन्दा बढी रोयल्टी (कर) सगरमाथा आरोहण गर्दा तिर्नुपर्ने हुन्छ। हाल सगरमाथा आरोहण गर्न नेपालीका लागि बसन्त ऋतुका लागि प्रतिव्यक्ति १ लाख ५० हजार रुपैयाँ रोयल्टी तोकिएको छ। यस्तै, शरद ऋतुका लागि प्रतिव्यक्ति ७५ हजार, शिशिर र वर्षा ऋतुका लागि प्रतिव्यक्ति ३७ हजार ५ सय रुपैयाँ कर तिर्नुपर्ने हुन्छ।
विदेशी नागरिकका लागि भने सगरमाथा आरोहणवापत तिर्नुपर्ने रोयल्टी बसन्त ऋतुका लागि १५ हजार अमेरिकी डलर, शरद ऋतुका लागि ७ हजार ५ सय डलर, शिशिर र वर्षा ऋतुका लागि ३ हजार ७ सय ५० अमेरिकी डलर तिर्नुपर्ने पर्यटन विभागले जनाएको छ। यसरी सरकारले विभिन्न हिमालहरूका लागि सिजनअनुसार नेपाली र विदेशी पर्वतारोहीबाट अलग–अलग दर लगाएर रोयल्टी सङ्कलन गरिरहेको हुन्छ।
विदेशी आरोहीका लागि
विदेशी आरोहीका लागि सगरमाथा (दक्षिण–पूर्वी धार, बाहेक अन्य रुट) बाट बसन्त ऋतुमा आरोहण गर्दा प्रति सदस्य १०,००० अमेरिकी डलर, शरदमा ५००० डलर र शिशिर र वर्षा ऋतुमा २५०० डलर तिर्नुपर्ने व्यवस्था छ। सगरमाथा बाहेक ८,००० मिटर वा सोभन्दा माथिका हिमालमा बसन्तमा ३,००० डलर, शरदमा १,५०० डलर र शिशिर ऋतुमा ७५० डलर तिर्नुपर्छ। त्यस्तै, मकालु हिमालमा बसन्तमा १,५०० डलर, शरदमा ३,००० डलर र शिशिर र वर्षा ऋतुमा १,५०० डलर तिर्नुपर्छ।
यस्तै, ७,५०१ देखि ८,००० मिटर अग्ला हिमालमा बसन्तमा १,००० डलर, शरदमा ५०० डलर र शिशिर ऋतुमा २५० डलर तिर्नुपर्ने व्यवस्था गरिएको छ भने ७,००१ देखि ७,५०० मिटरका हिमालमा बसन्तमा ८०० डलर, शरदमा ४०० डलर र शिशिर र वर्षा ऋतुमा २०० डलर तिर्नुपर्छ।
त्यसैगरी, ६,५०१ देखि ७,००० मिटरका हिमालमा बसन्तमा ५०० डलर, शरदमा २५० डलर र शिशिर र वर्षा ऋतुमा २०० डलर तिर्नुपर्छ। आमा दब्लम हिमालमा बसन्तमा १,००० डलर, शरदमा १,००० डलर र शिशिर र बर्षा ऋतुमा ५०० डलर तोकिएको छ भने ६,५०० मिटर वा सोभन्दा कम उचाइका हिमालमा बसन्तमा ३५० डलर, शरदमा १७५ डलर र शिशिर ऋतुमा १७५ डलर रोयल्टी तोकिएको छ।
नेपाली आरोहीका लागि
नेपाली आरोहीले सबैभन्दा बढी रोयल्टी सामान्य रुटमा सगरमाथा आरोहण गर्दा तिर्नुपर्छ। सगरमाथा (दक्षिण–पूर्वी धार) बाट बसन्तमा प्रत्येक सदस्यले १ लाख ५० हजार रुपैँया, शरदमा ७५,००० र शिशिर ऋतुमा ३७ हजार ५ सय तिर्नुपर्ने व्यवस्था छ। अन्य हिमालका लागि पनि निम्न अनुसार शुल्क तोकिएको छ।
सगरमाथा बाहेक ८,००० मिटरभन्दा माथिका हिमालमा बसन्तमा ५० हजार रुपैँया, शरदमा २५ हजार रुपैँया र शिशिर र वर्षा ऋतुमा १२ हजार ५ सय रुपैँया तिर्नुपर्छ। ७,५०१ देखि ८,००० मिटरका हिमालमा बसन्तमा ४० हजार रुपैँया, शरदमा २० हजार रुपैँया र शिशिर र वर्षा ऋतुमा १० हजार रुपैँया तोकिएको छ।
७,००१ देखि ७,५०० मिटरका हिमालमा बसन्तमा ३० हजार रुपैँया, शरदमा १५ हजार रुपैँया र शिशिर र वर्षा ऋतुमा ७ हजार ५०० रुपैँया तिर्नुपर्छ। ६,५०१ देखि ७,००० मिटरका हिमालमा बसन्तमा २५ हजार रुपैँया, शरदमा १२ हजार ५०० रुपैँया र शिशिर र वर्षा ऋतुमा ६ हजार २५० रुपैँया तोकिएको छ।
आमा दब्लम हिमालमा भने बसन्तमा ४० हजार रुपैँया, शरदमा २० हजार रुपैँया र शिशिर र वर्षा ऋतुमा १० हजार रुपैँया तिर्नुपर्छ। ६,५०० मिटर वा सोभन्दा कम उचाइ भएका अन्य हिमालमा बसन्तमा २० हजार रुपैँया, शरदमा १० हजार रुपैँया र शिशिर र वर्षा ऋतुमा ५ हजार रुपैँया रोयल्टी तिर्नुपर्ने पर्वतारोहण नियमावली, २०५९ मा व्यवस्था गरिएको छ।


