काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले जेष्ठ नागरिकहरूका लागि आन्तरिक हवाई भाडामा विशेष छुटको व्यवस्था गरेको छ। प्राधिकरणले आज जारी गरेको विज्ञप्तिमा विभिन्न उमेर समूहका नागरिकहरूलाई भाडामा उल्लेखनीय छुट प्रदान गर्ने निर्णय सार्वजनिक गरेको हो।
७० वर्षभन्दा माथिका नेपाली नागरिकहरूलाई सरकारद्वारा तोकिएको विशेष अवस्थामा टिकटमा पूर्ण ५० प्रतिशत छुट प्रदान गरिने प्राधिकरणले जारी गरेको निर्देशनमा उल्लेख छ। यस्तै, ७५ वर्षभन्दा माथि उमेर समूहका नागरिकहरूलाई ७० प्रतिशत छुट र ८० वर्षभन्दा माथि उमेर समूहका नागरिकहरूलाई ८० प्रतिशत छुटकाे व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ।
फरक क्षमता भएका नागरिकहरूलाई भने जुनसुकै उमेर समूह भएपनि यातायातको सन्दर्भमा समेत न्यूनतम ५० प्रतिशत छुट सुनिश्चित हुनेगरी व्यवस्था गरिने प्राधिकरणले जनाएकाे छ। प्राधिकरणले आजैका मितिबाट कार्यान्वयन गर्न समेत सम्बद्ध सम्पूर्ण वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको छ।


