बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत हप्ताको भेटवार्तामा भएको सहमतिको कार्यान्वयन स्वरूप चीनले अमेरिकी वस्तुहरूमा लगाइँदै आएको अतिरिक्त कर एक वर्षका लागि स्थगित गर्ने घोषणा गरेको छ।
यससँगै विश्वका दुई ठूला अर्थतन्त्र — चीन र अमेरिकाबीच लामो समयदेखि चलिरहेको व्यापार युद्धविराम कम्तीमा अर्को वर्षसम्म पनि कायमरहने भएको छ।
चिनियाँ वित्त मन्त्रालयले बुधबार स्टेट काउन्सिलको उद्धरणसहित सार्वजनिक गरेको विज्ञप्तिअनुसार,“अमेरिकी सामानहरूमा लगाइने २४ प्रतिशत कर एक वर्षका लागि स्थगित गरिनेछ, भने १० प्रतिशत कर यथावत् रहनेछ,” भन्ने निर्णय गरिएको छ।
यो निर्णय नोभेम्बर १० देखि लागू हुनेछ।
मन्त्रालयका अनुसार यो कदम “चीन–अमेरिका आर्थिक तथा व्यापारिक परामर्शमा पुगेको सहमति” अनुसार आएको हो।
गत अक्टोबरको अन्त्यतिर दक्षिण कोरियामा भएको भेटवार्तामा सी र ट्रम्पबीच व्यापारिक तनाव घटाउने प्रारम्भिक सहमति भएको थियो।
त्यसपछि दुवै देशबीच चलेका जटिल वार्ताहरू स्थायित्वतर्फ अघि बढेका छन्।
यो निर्णयले पछिल्ला महिनाहरूमा भइरहेका वार्ताहरूलाई एक वर्षका लागि युद्धविराममा परिणत गरेको विश्लेषण गरिएको छ।
यसअघि मङ्गलबार राष्ट्रपति ट्रम्पले वासिङ्टनले चीनमाथि लगाएको २० प्रतिशत अतिरिक्त कर घटाएर १० प्रतिशतमा ल्याउने घोषणागरेका थिए।यो पनि नोभेम्बर १० बाटै लागू हुनेछ।
गत वर्षदेखि लगातार एकअर्काका वस्तुहरूमा उच्च कर लगाउँदै आएको चीन र अमेरिकाबीचको तनावले विश्व बजारमा ठूलो अनिश्चितता निम्त्याएको थियो।
कुनै चरणमा दुवै देशका कर दरहरू तीन अंकको स्तरसम्म पुगेका थिए, जसले द्विपक्षीय व्यापारलाई ठप्प पार्ने अवस्था ल्याएको थियो।
हालैका महिनाहरूमा निर्यात नियन्त्रण, प्रविधि हस्तान्तरण र औद्योगिक नीतिजस्ता विषयमा तीव्र विवाद भइरहेका बेला दुवै देशका आर्थिक अधिकारीहरूले वार्तामार्फत असहज शान्ति कायम राख्दै आएका छन्।
छुट्टै वक्तव्यमा, चीनले अमेरिकी कृषि उत्पादनहरूमा लगाइएको अतिरिक्त कर अस्थायी रूपमा कार्यान्वयन नगर्ने घोषणा गरेको छ।
यो कदम ट्रम्प प्रशासनले चीनमाथि फेन्टानिल नियन्त्रणसम्बन्धी कठोर नीति र दोब्बर कर लगाउने निर्णयको प्रतिक्रियामा आएको हो।
अब ती करहरू घटेर पुनः १० प्रतिशतमा सीमित हुनेछन्।
बेइजिङले यसअघि अमेरिकाबाट आयात हुने कुखुरा, गहुँ, मकै र कपासमा १५ प्रतिशत र सोयाबिन, सुँगुरको मासु, गाईको मासु, दुग्ध तथा अन्य कृषि वस्तुहरूमा थप १० प्रतिशत शुल्क लगाएको थियो।
यी नीतिहरूले विशेषगरी अमेरिकी किसानहरू — ट्रम्पको प्रमुख राजनीतिक समर्थन आधार — लाई ठूलो असर पारेका थिए।
गत वर्ष मात्र अमेरिकी सोयाबिन निर्यातको आधाभन्दा बढी हिस्सा चीनमा गएको थियो, तर व्यापार विवाद तीव्र बन्दै गएपछि चीनले ती अर्डरहरू रद्द गरेको थियो।
वार्तापछि चीनले दुर्लभ पृथ्वी तत्वहरूको निर्यातमा लगाइएका प्रतिबन्धहरू पनि एक वर्षका लागि निलम्बन गर्ने सहमति जनाएको छ।
यी तत्वहरू रक्षा उद्योग, विद्युतीय सवारी र उपभोक्ता इलेक्ट्रोनिक्स निर्माणका लागि अत्यावश्यक मानिन्छन्, र यस क्षेत्रमा चीनको वैश्विक प्रभुत्व छ।
चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार, वासिङ्टनले पनि ‘एन्टिटी लिस्ट’ अन्तर्गतका विदेशी कम्पनीहरूको सहायक संस्थामाथि लगाइने निर्यात प्रतिबन्ध एक वर्षका लागि स्थगित गर्ने निर्णय गरेको छ।
त्यसैगरी, अमेरिकी सरकारले चीनको जहाज निर्माण उद्योगमाथि लक्षित प्रतिबन्धात्मक कदमहरू पनि एक वर्षका लागि रोकेर दुई देशबीचको विश्वास पुनःस्थापनाको संकेत दिएको छ। अमेरिकाको पछिल्लो कदमपछि चीनले आफ्नो ‘प्रतिआक्रमणात्मक शुल्क नीति’ पनि एक वर्षका लागि स्थगित गर्ने घोषणा गर्दै, दुवै देशबीचको आर्थिक सम्बन्ध सुधार र स्थायित्वतर्फ सकारात्मक सन्देश दिएको छ।


