काठमाडौँ, १९ कात्तिक – नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि लगानीकर्ताको मनोबल कमजोर भएको बताएका छन्।
नागरिक पहलद्वारा आज आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’मा गभर्नर पौडेलले पछिल्लो समय लगानी बढाउन नसकिएको अवस्थामा जेनजी आन्दोलनले थप चुनौती थपेको उल्लेख गरे। उनले भने, “विगत एक-दुई वर्षदेखि पैसा भए पनि लगानी विस्तार भएको थिएन। यस्तो अवस्थामा जेनजी आन्दोलनले थप समस्यामा पारेको छ।”
त्यसै अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनमा घुसपैठ भएकाले निजी तथा सरकारी संरचनामा आक्रमण भएको धारणा व्यक्त गरे। उनले भने, “आन्दोलन प्रारम्भिक उद्देश्यअनुसार अघि बढे पनि घुसपैठका कारण हिंसात्मक बनेको छ।”
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक दलहरूले व्यक्तिमुखीभन्दा प्रणालीमुखी सुधारमा ध्यान दिनुपर्नेमा जोड दिए। उनले भने, “जेनजी आन्दोलनले देखाएको असन्तुष्टिलाई दलहरूले गम्भीरतापूर्वक लिनुपर्छ। व्यक्तिमा होइन, प्रणालीमा सुधार ल्याउनु जरुरी छ।”
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले जेनजी आन्दोलन कांग्रेसप्रति पनि लक्षित भएको बताए। उनले भने, “सरकारमा रहेकाले कांग्रेसले जिम्मेवारी लिनुपर्छ। आन्दोलनको क्रममा जनता केही समयका लागि हाम्रो विरुद्ध पनि आएका थिए, त्यसैले नेतृत्वले ख्याल राख्नुपर्छ।”
राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्तीकुमारी शाहीले वर्तमान राजनीतिक अवस्था जटिल र अविश्वासपूर्ण भएको टिप्पणी गरे।
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय समिति सदस्य गणेश कार्कीले लामो समयदेखिको असन्तुष्टिका कारण जेनजी आन्दोलन भएको बताए।
जनता समाजवादी पार्टीका प्रवक्ता मनिषकुमार सुमनले आन्दोलनमा नलिएका व्यक्तिहरू पनि सक्रिय भएको उल्लेख गरे।
महान्यायाधिवक्ता सविता भण्डारीले विद्रोहपछिको राजनीतिक अवस्था सरकारका लागि अवसर र चुनौती दुवै भएको बताए। उनले भने, “सरकार गठन हुँदा सुशासनमा ध्यान दिन भनिएको थियो। अभियोजन र सजाय आफ्नै ठाउँमा छन्, तर विभिन्न आवाजहरू उठिरहेका छन्। कसैलाई दोषी ठहर गर्न प्रमाण आवश्यक छ। प्रहरी प्रशासन अनुसन्धानमा सक्रिय छ र मिडियामा नदेखिए पनि कानुनी प्रक्रिया अघि बढिरहेको छ।”


