वासिङ्टन डीसी, अमेरिका। ट्रम्प सरकारले समयमै बजेट पास गर्न नस्कदा भएको संघीय सरकारको शटडाउन अर्थात् सरकारी बन्दका कारण अमेरिकाभर हवाई सेवा गम्भीर रूपमा प्रभावित भएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले हवाई यातायात घटाउने निर्देशन दिएको कारण अमेरिकी एयरलाइन्सहरूले शनिबार साँझसम्म मात्र दुई हजार ५०० भन्दा बढी उडान रद्द गरेका छन्। बन्द कहिले अन्त्य हुने कुनै संकेत नदेखिएपछि प्रमुख विमानस्थलहरूमा यात्रुहरू अलमलमा परेका छन्।
देशका व्यस्त विमानस्थलहरूमा देखिएको अव्यवस्थाले लामो समयदेखि जारी सरकारी बन्दको असर अझ गहिरो बनाएको छ। यात्रुहरू घण्टौँसम्म प्रतीक्षामा बस्न बाध्य छन्। मियामीकी ३६ वर्षीया एमी होल्गुइनले भनिन्, 'हामी सबैलाई कतै न कतै पुग्नैपर्छ, तर सरकारको असमर्थताले हामीलाई रोकिरहेको छ। आशा छ, समाधान छिट्टै हुनेछ।'
विश्लेषकहरूका अनुसार उडान रद्द हुने दर यस्तै रहिरहे भने आगामी हप्तामा स्थिति भयावह बन्न सक्छ। यसले न केवल हवाई यातायात, तर समग्र अमेरिकी अर्थतन्त्र र पर्यटन क्षेत्रमा समेत नकारात्मक असर पार्ने चेतावनी दिइएको छ।
एफएएले सुरुवाती रूपमा ४० प्रमुख विमानस्थलमा चार प्रतिशत उडान कटौती गरेको थियो, जुन शुक्रबारसम्म बढेर १० प्रतिशत पुगेको छ। मंगलबारसम्म यो दर अझै बढ्ने अनुमान छ।
परिवहन मन्त्री सिन डफीले चेतावनी दिंदै भने, 'यदि सरकारी बन्द लामो समयसम्म जारी रह्यो भने, तलब बिना काम गर्न बाध्य हवाई नियन्त्रकहरू काम गर्न अस्वीकार गर्न सक्छन्, जसले स्थिति झन् बिगार्नेछ।'
किन रद्द भइरहेका छन् उडानहरू?
संघीय नियन्त्रकहरूले लगभग एक महिनादेखि तलब बिना काम गरिरहेका छन्। धेरैजसोले बिरामीको बहाना बनाएर काममा उपस्थित हुन सकेका छैनन्।
नेशनल एयर ट्राफिक कन्ट्रोलर्स एसोसिएसनका अनुसार धेरै नियन्त्रकहरू हप्ताको छ दिनसम्म ओभरटाइम काम गर्न बाध्य छन् र कतिपयले खर्च धान्न दोस्रो रोजगारी लिनुपरेको छ।
बन्द अन्त्य गर्न माग गर्दै संघले शनिबार अमेरिकी कङ्ग्रेसका सदस्यहरूलाई १ हजार ६०० भन्दा बढी हस्तलिखित पत्र पठाएको छ।
यात्रुहरूको दुःख
उडान रद्द भएका यात्रुहरू पुनः बुकिङका लागि लामो प्रतीक्षामा छन्। लामो अन्तर्राष्ट्रिय उडानहरू अहिलेका लागि सामान्य छन्, तर यात्रुहरूमा अनिश्चितताको डर बढ्दो छ। ४६ वर्षीया मियामीकी हिथर जुलेले भनिन्, 'यात्रा आफैं तनावपूर्ण हुन्छ, त्यसमा पनि यस्ता अवरोधले सबथोक अझ कठिन बनाउँछ।'
कयौं यात्रुले वैकल्पिक सवारी विकल्प रोजिरहेका छन्। भाडाका गाडी कम्पनीहरूले एकतर्फी आरक्षणमा तीव्र वृद्धि भएको जनाएका छन्।
न्युजर्सीकी डायना अल्वियरले भने, 'हामीले पारिवारिक भ्रमण रद्द गर्नुपर्यो। युनाइटेड एयरलाइन्सले त टिकट फिर्ता गर्यो, तर एयरबिएनबीमा राखेको सात सय डलर फिर्ता भएन। यो आर्थिक रूपमा पनि कठिन छ।'
अर्थतन्त्रमा प्रत्यक्ष असर
विशेषज्ञहरूका अनुसार उडान रद्दले अमेरिकी अर्थतन्त्रका धेरै क्षेत्रमा असर पार्दैछ। अमेरिकाको झण्डै आधा हवाई कार्गो यात्रुवाहक विमानको पेटमा पठाइने भएकाले ढुवानी अवरोधले बजारमा मूल्य वृद्धि गराउन सक्छ।
सिराक्युज विश्वविद्यालयका आपूर्ति शृङ्खला विज्ञ प्रा. प्याट्रिक पेनफिल्ड भन्छन्, 'यदि प्रमुख ढुवानी सेवा लामो समय प्रभावित रह्यो भने, यसको लागत अन्ततः उपभोक्तामै सारिनेछ।'
एलिभेट एभिएसन ग्रुपका प्रमुख कार्यकारी ग्रेग राइफका अनुसार, 'यो बन्दले कार्गो, पर्यटन, होटल र सहरका राजस्वमा समेत गिरावट ल्याउनेछ।'
अमेरिकाको संघीय सरकारी बन्द जारी रहँदा हवाई सेवा अवरोध अझ गहिरिँदै गएको छ। उडान रद्दको श्रृंखला रोकिएको छैन, यात्रुहरू समस्यामा छन्, र यसको प्रभाव अमेरिकी अर्थतन्त्रभर फैलिँदै गएको छ।


