काठमाडौं । नेपाल राष्ट्र बैंकले बागमती प्रदेशमा भौतिक पूर्वाधार विस्तार, सेवा सुलभता र दिगो विकासका काम चुनौतीपूर्ण भए पनि आर्थिक वृद्धिको सम्भावना उच्च रहेको निष्कर्ष निकालेको छ।
केन्द्रीय बैंकले हालै प्रकाशित गरेको ‘आर्थिक वर्ष २०८१/८२ को आर्थिक गतिविधि अध्ययन’ अनुसार, बागमती प्रदेशमा सडक, स्वास्थ्य सेवा, खानेपानी, ढल तथा फोहोर व्यवस्थापन र पूर्वाधारयुक्त बस्ती विकासमा अझै धेरै चुनौतीहरू बाँकी छन्।
अध्ययनले प्राकृतिक प्रकोपको जोखिम उच्च रहेको उल्लेख गर्दै, यस्ता प्रकोप रोकथाम र क्षति न्यूनीकरणका उपाय अपनाउनु यस प्रदेशका लागि कठिन कार्य भएको जनाएको छ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तर सुधार तथा पहुँच विस्तार पनि चुनौतीपूर्ण रहेको अध्ययनमा बताइएको छ। तीव्र शहरीकरणका कारण कृषियोग्य भूमि घट्दै गएको र पहाडी–हिमाली क्षेत्रमा जनसंख्या घट्दै जानुका कारण जमिन बाँझो हुने प्रवृत्तिले कृषि भूमि संरक्षणमा सन्तुलन कायम गर्न गाह्रो भएको निष्कर्ष राखिएको छ।
त्यस्तै, जलवायु परिवर्तन र प्राकृतिक विपत्तिका कारण कृषि, जलविद्युत्, पूर्वाधार, उद्योग र सेवा क्षेत्रमा नकारात्मक असर पर्न सक्ने देखिएकाले ती क्षेत्रमा लगानी बढाउँदै दिगो विकासमा ध्यान दिन आवश्यक रहेको राष्ट्र बैंकको अध्ययनमा उल्लेख छ।
अध्ययनका अनुसार, कृषिमा आश्रित जनसंख्यालाई पूर्णकालीन रोजगारीका अवसर सिर्जना गर्नु र उत्पादन वृद्धि गर्नु पनि प्रदेशका प्रमुख चुनौतीहरू हुन्। उपत्यकामा जग्गाको मूल्य अत्यधिक बढेकाले उद्योग स्थापनामा निजी क्षेत्रलाई कठिनाइ भई उत्पादन र सेवा प्रतिस्पर्धी बनाउन जटिलता थपिएको छ।
तर, चुनौतीका बीच बागमती प्रदेशमा उच्च सम्भावना पनि रहेको अध्ययनले देखाएको छ। काठमाडौं, ललितपुर र भक्तपुरजस्ता ऐतिहासिक शहरहरूले धार्मिक तथा सांस्कृतिक पर्यटन विस्तारमा ठूलो योगदान दिन सक्ने निष्कर्ष अध्ययनमा समावेश छ।
नेपालका सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय विमानस्थल यसै प्रदेशमा रहेको र अन्य प्रदेशको तुलनामा पर्याप्त पर्यटकीय पूर्वाधार भएकाले द्रुत आर्थिक विकास सम्भव देखिएको राष्ट्र बैंकको भनाइ छ।
पर्यटन क्षेत्र विस्तारमार्फत रोजगारी सिर्जना र आर्थिक वृद्धि दुवै सम्भव रहेको अध्ययनमा जनाइएको छ। साथै, भौगोलिक विविधता, जलविद्युत्, कृषि र व्यापारमा रहेको लगानीले बागमती प्रदेशलाई राष्ट्रिय आर्थिक केन्द्रको रूपमा स्थापित गर्न सक्ने सम्भावना देखाइएको छ।
सूचना प्रविधिको विकास र बढ्दो सञ्जालीकरणले दिगो आर्थिक वृद्धि गर्न सहयोग पुर्याउने उल्लेख गर्दै, यस प्रदेशमा रहेका उच्च बहावयुक्त नदी र जलस्रोतको प्रयोगमार्फत जलविद्युत् उत्पादनमा ठूलो सम्भावना रहेको उल्लेख गरिएको छ।
अध्ययनमा कृषि क्षेत्रमा आधुनिक प्रविधि, गुणस्तरीय बिउ बीजन र प्राविधिक सहयोगका माध्यमबाट व्यावसायीकरण गरी उत्पादन वृद्धि र आयआर्जन बढाउन सकिने उल्लेख छ। जडिबुटी खेती र प्रशोधन उद्योग स्थापना मार्फत बहुआयामिक लाभ लिन सकिने सम्भावना पनि देखाइएको छ।
पर्यटकीय गन्तव्यहरूको प्रचार–प्रसार र पर्यटनसँग सम्बन्धित सेवा उद्योग विकास गरी प्रत्यक्ष तथा परोक्ष रोजगारी सिर्जना गर्न सकिने निष्कर्ष अध्ययनमा समावेश गरिएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रारम्भिक अनुमानअनुसार आर्थिक वर्ष २०८१/८२ मा बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.२ प्रतिशत पुग्नेछ, जुन अघिल्लो वर्षको ३.७ प्रतिशतभन्दा उच्च हो।
यस आर्थिक वर्षमा प्रदेशको कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) रु २२ खर्ब ३० अर्ब २३ करोड पुग्ने अनुमान गरिएको छ। यसमा कृषि क्षेत्रको योगदान ११.८ प्रतिशत, उद्योग क्षेत्रको ११.१ प्रतिशत र सेवा क्षेत्रको ७७.१ प्रतिशत रहनेछ।
मुलुककै समग्र आर्थिक संरचनामा बागमती प्रदेशको अंश कृषि क्षेत्रमा १७.१ प्रतिशत, उद्योगमा ३१.७ प्रतिशत र सेवा क्षेत्रमा ४५.४ प्रतिशत रहने अनुमान गरिएको छ।
प्रदेशको कुल उत्पादनमा थोक तथा खुद्रा व्यापार, सवारीसाधन मर्मत सेवा, घरजग्गा कारोबार, वित्तीय तथा बीमा सेवा, यातायात, भण्डारण र उत्पादनमूलक उद्योगहरू प्रमुख योगदानकर्ताका रूपमा रहेका छन्।


