ताप्लेजुङमा स्याउखेती परीक्षण सफल, किसानलाई बगैँचा विस्तार गर्न थप सहयोग गर्ने तयारी

ताप्लेजुङमा स्याउखेती परीक्षण सफल, किसानलाई बगैँचा विस्तार गर्न थप सहयोग गर्ने तयारी

ट्याक्स खबर
आइतवार, कार्तिक ३० २०८२
ट्याक्स खबर
आइतवार, कार्तिक ३० २०८२
  • images

    फुङ्लिङ (ताप्लेजुङ)। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ अन्तर्गतका घुन्सा र फलेटार क्षेत्रमा गरिएको स्याउखेती परीक्षण सफल भएको छ। स्थानीय किसान र विभिन्न संस्थाले परीक्षणका रूपमा रोपेका स्याउका बिरुवाबाट राम्रो फल आएको देखिएपछि सबैको उत्साह बढेको छ।

    फलेटार र ग्याप्ला क्षेत्रमा पहिले देखिनै स्याउखेती भए पनि घुन्सामा पहिलोपटक परीक्षण गरिएको हो। मनाङ एग्रो फार्मको समन्वयमा इटालीबाट ल्याइएका ‘फुजी’ र ‘गोल्डेन डेलिसियस’ जातका स्याउ रोपिएका थिए। पुतली सहयोग योजना, स्वीट्जरल्यान्डका प्राविधिक तथा स्थानीयको साझेदारीमा दिगो पर्यावरणीय कृषि कार्यक्रमअन्तर्गत घुन्सा र फलेटारमा दुई–दुई रोपनी क्षेत्रफलमा नमूना स्याउबगैँचा विस्तार गरिएको हो।

    पुतली सहयोग योजनाका जिल्ला संयोजक दावा छिरिङ शेर्पाका अनुसार परियोजनाको मुख्य उद्देश्य किसानलाई स्याउसँगै अन्य कृषि उपजमार्फत आर्थिक रूपमा सबल बनाउनु हो।

    घुन्साका नुपु डुण्डुक शेर्पाले परीक्षण सफल भएपछि आफ्नै स्याउबगैँचा विस्तार गर्ने योजना बनाएको बताए। “घुन्सामा फलेका स्याउ स्वादिलो थिए। अब यसै क्षेत्रमा व्यावसायिक स्याउखेती गर्ने सोच बनाएका छौँ,” उनले भने।

    घुन्सास्थित नमूना बगैँचामा ६० वटा जापानिज फुजी, १० वटा गोल्डेन डेलिसियस र १० वटा गाला जातका स्याउका बिरुवा रोपिएका छन्। बगैँचामा जैविक विविधता कायम राख्न मौरीपालन र कुखुरापालन पनि गरिएको छ, जसले परागसेचन र माटो उर्वरता बढाउन भूमिका खेलेको छ।

    चार वर्षअघि फलेटार र घुन्साको माटो स्वीट्जरल्यान्डमा परीक्षण गर्दा स्याउखेतीका लागि उपयुक्त रहेको देखिएको थियो। त्यस्तै यहाँ उत्पादन भएका स्याउको स्वाद, दाना र चिनीको मात्रा परीक्षण गर्दा पनि सकारात्मक नतिजा आएको छ। स्वीट्जरल्यान्डबाट आएका विशेषज्ञ अनुसार घुन्सामा फुजीमा १३ ब्रिक्स, गालामा १३.५ ब्रिक्स र गोल्डेनमा १७ ब्रिक्स चिनी पाइयो। फलेमा फुजीमा १२, गालामा १३.५ र गोल्डेनमा १५ ब्रिक्स मापन भएको छ।

    स्याउको सफल परीक्षणपछि किसानलाई बगैँचा विस्तार गर्न थप सहयोग गर्ने तयारीमा योजना रहेको जिल्ला संयोजक शेर्पाले बताए। हालै घुन्सा पुगेका स्वीट्जरल्यान्डका विशेषज्ञले स्याउखेती गर्न इच्छुक स्थानीयका जग्गा नापजाँच पनि गरेका छन्।

    कञ्चनजङ्घा आधार शिविर प्रवेशद्वार नजिकैका फले र घुन्सामा रोपिएका स्याउका बिरुवा छ महिनामै फल्न थालेपछि स्थानीयहरूमा आशा जागेको छ। यस सफलताले ताप्लेजुङ मात्र नभई पूर्वी हिमाली क्षेत्रका किसानका लागि व्यावसायिक स्याउखेतीको नयाँ सम्भावना खुलेको मानिएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend