सुक्खा बन्दरगाह निर्माण सामग्री आयातमा भन्सार छुट प्रक्रिया अगाडि बढ्यो

सुक्खा बन्दरगाह निर्माण सामग्री आयातमा भन्सार छुट प्रक्रिया अगाडि बढ्यो

ट्याक्स खबर
शुक्रवार, मंसिर ५ २०८२
ट्याक्स खबर
शुक्रवार, मंसिर ५ २०८२
  • images

    महेन्द्रनगर (कञ्चनपुर)। दोधारा–चाँदनी नगरपालिकामा निर्माणाधीन सुक्खा बन्दरगाहका लागि आवश्यक सामग्री तथा औजार आयातमा भन्सार छुट दिने प्रक्रिया अघि बढेको छ।

    इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भन्सार छुटका लागि स्वीकृति प्रदान गरी कार्यान्वयनका लागि अर्थ मन्त्रालयमा सिफारिस पठाइसकेको छ। बन्दरगाह निर्माणका लागि आवश्यक सामग्री र औजारहरूको सूची पेश गरेपछि मन्त्रालयले सो सूची अनुमोदन गरी छुट प्रक्रियालाई अगाडि बढाएको हो।

    गजुरेलले भने, “ठेकेदारले भारतबाट ल्याइने औजार र निर्माण सामग्रीको सूची बुझाएको थियो। मन्त्रालयले सो सूची स्वीकृत गरेपछि अब छुट लागू हुने चरणमा पुगेको छ।”

    भारत सरकारको आर्थिक सहयोगमा दोधारा–चाँदनी क्षेत्रमा सुक्खा बन्दरगाह निर्माण भइरहेको छ। भारतले नै निर्माण कम्पनी चयन गरी काम अघि बढेको छ। हाल निर्माण कम्पनीले साइटमा माटो सम्याउने, मजदुर आवासका संरचना निर्माण गर्ने काम सुरु गरिसकेको बताइएको छ। भारतबाट आवश्यक औजार तथा सामग्री आइसकेपछि काम थप तीव्र हुने अपेक्षा गरिएको छ।

    करीब रु ३ अर्ब ८० करोड लागतमा तीन वर्षभित्र बन्दरगाह निर्माण सम्पन्न गर्ने योजना छ। दोधारा–चाँदनी–१ स्थित गौरीशंकर सामुदायिक वनको ४२.३६ हेक्टर क्षेत्रमा पूर्वाधार निर्माण गरिँदैछ। यस क्षेत्रमा दुईवटा गोदाम, भन्सार जाँच केन्द्र, क्वारेन्टाइन, अध्यागम (इमिग्रेशन), सुरक्षा भवनलगायतका संरचना निर्माण हुनेछन्।

    महाकाली नदीमा बनेको चार लेनको पक्की पुलको पश्चिम किनारमा सुक्खा बन्दरगाह निर्माण भइरहेकाले यसले कञ्चनपुरलाई सुदूरपश्चिमको प्रमुख व्यापारिक नाका बनाउने अपेक्षा गरिएको छ। स्थानीयवासी पनि परियोजनाप्रति उत्साहित छन्।

    सुक्खा बन्दरगाह तयार भएपछि भारतको नयाँदिल्ली तथा उत्तराखण्डको रुद्रपुर औद्योगिक क्षेत्रसम्म पहुँच सहज हुने भएकाले सुदूरपश्चिम प्रदेशको आर्थिक विकासमा यसले महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ। रुद्रपुर औद्योगिक क्षेत्र यहाँबाट करिब ९० किलोमिटर दूरीमा पर्छ। नेपाल सरकारले विसं २०६४ मै यहाँ सुक्खा बन्दरगाह निर्माणको प्रस्ताव अघि सारेको थियो।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend