मुस्ताङ। हरेक वर्ष यो समयसम्म मानवविहीन जस्तै देखिने माथिल्लो मुस्ताङ यसपालि भने सामान्य अवस्थामै छ। सदियौंदेखि हिउँदयाम सुरु हुनुअगावै अत्यधिक चिसो, हिमपातको जोखिम र कठोर दैनिकीका कारण यहाँका बासिन्दा बेँसी झर्ने गरेका थिए। तर यस वर्ष कोरला नाका सञ्चालनमा आएपछि व्यापारिक चहलपहल बढेको र वैकल्पिक रोजगार सिर्जना भएका कारण अधिकांश नागरिक यथास्थानमै बसेका छन्।
सामान्यतया लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा बर्खे बाली भित्र्याएपछि पोखरा, काठमाडौं वा भारतका शहरमा घुम्ती व्यापार गर्न बेँसी झर्थे। अत्यधिक चिसोले पाइप, कुलो, शौचालयका सेफ्टीट्याङ्की जम्ने भएकाले हिउँदयाममा बसोबास असहज मानिन्थ्यो। विद्यालयहरू समेत कात्तिकमै बेँसी झरेर ‘घुम्ती कक्षा’ सञ्चालन गर्ने प्रचलन थियो।
गत वर्षसम्म करिब ९० प्रतिशत नागरिक यो समयमा बेँसी झरेका हुन्थे। तर स्थिति अहिले बदलिन थालेको छ।
कोरला नाका खुल्दा व्यापार र रोजगारीको नयाँ सम्भावना
कोभिडअघिसम्म कोरला नाका वर्षमा केही महिना मात्रै खुल्ने मेलाको रूपमा सीमित थियो। २०८० कात्तिक २७ देखि नाका आंशिक रूपमा खुले पनि व्यापारिक गतिविधि व्यापक हुन सकेको थिएन। तर गत भदौ ३० देखि पूर्ण रूपमा सञ्चालनमा आएपछि कोरलामा व्यापार, आयात–निर्यात र श्रम अवसर उल्लेख्य रूपमा बढेका छन्।
तातोपानी र रसुवागढी नाका अबरुद्ध भएपछि कोरला नै प्रमुख वैकल्पिक मार्ग बनेको छ। मुस्ताङ भन्सार कार्यालयले अहिलेसम्म झन्डै रु ४ अर्ब राजस्व संकलन गरिसकेको छ।
लोमान्थाङ–२ छोसेका वडाध्यक्ष कर्मा नाम्गेल गुरुङका अनुसार कोरलामा अहिले तीन दर्जनभन्दा बढी माथिल्लो मुस्ताङीले त्रिपाल टहरा बनाएर व्यापार चलाइरहेका छन्। युवाहरू चीनको हाटबजारमा व्यापार गर्न, भन्सार क्षेत्रमै ‘लोड–अनलोड’ गर्न तथा चिनियाँ भन्सारबाट नेपालतर्फ आयात हुने विद्युत् कार (EV) ल्याउन समेत व्यस्त छन्। उनीहरू दैनिक रु ५ हजार देखि १० हजार सम्म कमाइ गरिरहेका छन्।
नाका वरपर मात्रै करिब ५०० बढी मानिसले रोजगारी पाएको वडाध्यक्ष गुरुङले बताए।
यो वर्ष बेँसी झर्ने संख्या घट्यो
दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टका अनुसार कोरलामा व्यापारिक र पर्यटकीय गतिविधि बढेपछि माथिल्लो मुस्ताङका करिब दुई-तिहाइ नागरिक आफ्नै बसोबासमा रहेका छन्।
गत वर्ष यसबेलासम्म ८० प्रतिशत बेँसी झरेका भए पनि यो वर्ष लोमान्थाङमा ३० प्रतिशत र लोघेकर दामोदरकुण्डमा ५० प्रतिशत मात्र बेँसी झरेका छन्।
जोमसोम–कोरला सडकखण्डका होटलहरू पनि यथावत रूपमा सञ्चालनमा छन्। लोमान्थाङका होटलहरू झण्डै सबै खुलेका छन्। “नाकामा व्यापार चलिरहेकाले नागरिक यहीँ बसिरहेका छन्; नाका फेरि बन्द भए मात्र बेँसी झर्ने हो,” एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले बताए।
कठोर चिसो, तर व्यापारले रोक्यो बसाइँसराइ
यद्यपि चिसो यथावत कठोर छ। बिहान–बेलुका तापक्रम माइनस २० डिग्रीसम्म झर्ने भएकाले कुलो, धारा र सेफ्टी ट्याङ्की जम्ने समस्या यस वर्ष पनि उस्तै छ।
त्यसैबेला, कोरलानाका–चीन भन्सार मार्गमा करिब ३०० कन्टेनर माल ढुवानीका लागि पालो कुर्दै बसेको मुस्ताङ भन्सार कार्यालय प्रमुख रमेश पौडेलले जानकारी दिए।


