चुम्चेत स्यार खोला जलविद्युत् आयोजना चिलिमेले निर्माण गर्ने, थप तीन परियोजनालाई उत्पादन अनुमति

चुम्चेत स्यार खोला जलविद्युत् आयोजना चिलिमेले निर्माण गर्ने, थप तीन परियोजनालाई उत्पादन अनुमति

ट्याक्स खबर
आइतवार, मंसिर १४ २०८२
ट्याक्स खबर
आइतवार, मंसिर १४ २०८२
  • images

    काठमाडौँ। सरकारले थप तीन जलविद्युत् परियोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागले ४५ मेगावाट क्षमताको चुम्चेत स्यार खोला जलविद्युत् आयोजनालाई उत्पादन अनुमति दिएको छ। गोरखा जिल्लाको चुम्चेतमा बन्ने यो आयोजना चिलिमे जलविद्युत् कम्पनीले निर्माण गर्ने भएको हो। बुढीगण्डकी नदीमा आधारित यो आयोजना नदी–प्रवाही प्रकृतिको हुनेछ।

    आयोजनाबाट वार्षिक करिब ३४८ गिगावाट प्रतिघण्टा ऊर्जा उत्पादन हुने अनुमान छ। उत्पादित विद्युत् प्रस्तावित न्यु बुढीगण्डकी प्रोक सबस्टेसनमा २२० केभी क्षमताको करिब ११० किलोमिटर लामो प्रसारण लाइनमार्फत जोडिनेछ। उक्त प्रसारण लाइन राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले निर्माण गरिरहेको छ।

    रसुवागढी, साञ्जेन र मध्य भोटेकोशी जस्ता परियोजनाहरू सम्पन्न भइसकेका कारण नयाँ योजनाको आवश्यकता भएको चिलिमे जलविद्युत् कम्पनीका लागि स्यार खोला आयोजना अर्को महत्वपूर्ण परियोजना मानिएको छ।

    मिडिल लिखु र छोमरोङ खोला आयोजनालाई पनि अनुमति

    विभागले ८.६ मेगावाट क्षमताको मिडिल लिखु जलविद्युत् आयोजनालाई समेत विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ। यो आयोजना रामेछापको साँघुटार क्षेत्रमा निर्माण हुनेछ।

    त्यसैगरी, ४.८९ मेगावाट क्षमताको छोमरोङ खोला जलविद्युत् आयोजनालाई पनि उत्पादन अनुमतिपत्र दिइएको छ। यो आयोजना घान्द्रकु हाइड्रोले निर्माण गर्नेछ।

    उत्पादन अनुमति प्राप्त परियोजनाको कुल क्षमता ११ हजार ९७० मेगावाट

    विद्युत् विकास विभागका अनुसार, हालसम्म २६३ जलविद्युत् परियोजनाले उत्पादन अनुमतिपत्र पाएका छन्, जसको संयुक्त क्षमता ११,९७० मेगावाट बराबर छ।

    चालु आर्थिक वर्षको हालसम्म १३ जलविद्युत् आयोजनालाई उत्पादन अनुमति प्रदान गरिएको विभागले जनाएको छ।

    यसैगरी, हालसम्म विभागमा ४२ जलविद्युत् आयोजनाले सर्वेक्षण अनुमतिका लागि आवेदन दिएका छन्। समग्रमा विभागमा दर्ता भएका सर्वेक्षणका आवेदन संख्या १९३ पुगेका छन्, ती आयोजना मिलाएर कुल सम्भावित क्षमता ९,६८९ मेगावाट रहेको विभागको तथ्याङ्कमा उल्लेख छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend