काठमाडौं। अर्थमन्त्री रामेश्वर प्रसाद खनालले देशले लक्ष्यअनुसार आर्थिक वृद्धि हासिल गर्न नसक्नुका कारणहरूबारे गहिरो आत्मसमीक्षा गर्न आवश्यक रहेको बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २९औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतका वर्षहरूमा राजनीतिक असन्तुष्टि र अस्थिरताले विकास तथा आर्थिक गतिविधिमा नकारात्मक असर पारेको उल्लेख गरे।
“देशमा राजनीतिक असन्तुष्टि जसरी प्रकट भए पनि जो–कोहीले सिर्जना गरेको सम्पत्ति अन्ततः नेपालको नै सम्पत्ति हो भन्ने बुझाइ सबैमा हुनुपर्छ,” उनले भने।
प्रविधिको बढ्दो प्रयोगसँगै सूचनाको आधिकारिकता र त्यसले पार्ने प्रभावप्रति सजग रहनुपर्ने आवश्यकता अर्थमन्त्री खनालले औँल्याए। गलत वा अप्रमाणित सूचनाले अन्तर्राष्ट्रिय सम्बन्ध र लगानी वातावरणमा प्रतिकूल असर पार्न सक्ने उल्लेख गर्दै उनले सञ्चारमाध्यमले जिम्मेवार बनेर काम गर्नुपर्नेमा जोड दिए।
“सही सन्देश र सूचना प्रवाहले निजी क्षेत्रमा सकारात्मक सोच विकसित हुन्छ, लगानीकर्ताको मनोबल पनि बलियो बन्छ। त्यसैले सूचना प्रसारणको संवेदनशीलता बुझ्न अत्यन्त आवश्यक छ,” उनले स्पष्ट पारे।
अर्थमन्त्री खनालका अनुसार सरकारले हाल ठूला पूर्वाधार परियोजनामा बजेट बढाउँदै कामलाई तीव्रता दिएको छ। साथै, पुँजी बजारका विद्यमान समस्या समाधान गर्न तथा पूर्वविशिष्ट पदाधिकारीहरूको सेवा–सुविधालाई कानुनी ढाँचामा ल्याई नियमन गर्ने प्रक्रिया पनि अघि बढिरहेको बताए।
नेपालको अर्थतन्त्रले भोगेका आरोह–अवरोहका क्रममा सेजनले मार्गदर्शकका रूपमा उभिएर जिम्मेवार तथा पेशेवर पत्रकारितालाई प्रोत्साहन दिँदै आएकोमा अर्थमन्त्री खनालले प्रशंसा समेत गरेका छन्।


