काठमाडौं। वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले आगामी दिनहरूमा आर्थिक सबलीकरण, आन्तरिक उत्पादन वृद्धि, उत्पादकत्व विस्तार र रोजगारी सिर्जना सरकारका प्रमुख लक्ष्य रहने बताएका छन्।
“सरकार तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने, सुशासन स्थापित गर्ने र सेवा प्रवाहलाई केन्द्रमा राखेर अगाडि बढिरहेको छ,” मन्त्री सिन्हाले नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २९औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने।
उनका अनुसार आर्थिक गतिविधि विस्तारका लागि निजी क्षेत्रलाई महत्वपूर्ण साझेदारका रूपमा लिएर काम भइरहेको छ। साथै, जेनजी आन्दोलनको मर्म नबिर्सी सुधारका कार्यक्रम अघि बढाइरहेको जानकारी उनले दिएका छन्।
गत भदौमा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने र घाइते परिवारप्रति सरकार जिम्मेवार रूपमा उभिएको उल्लेख गर्दै मन्त्री सिन्हाले सुशासन तथा भ्रष्टाचार नियन्त्रणलाई सरकारको मुख्य दायित्व भएको पनि स्मरण गराए।


