मौद्रिक नीतिको सजग र लचिलो कार्यदिशालाई निरन्तरता दिईएको छ: केन्द्रीय बैंक

मौद्रिक नीतिको सजग र लचिलो कार्यदिशालाई निरन्तरता दिईएको छ: केन्द्रीय बैंक

ट्याक्स खबर
सोमवार, मंसिर १५ २०८२
ट्याक्स खबर
सोमवार, मंसिर १५ २०८२
  • images

    काठमाडौँ, १५ मङ्सिर: चालु आर्थिक वर्षको मौद्रिक नीतिको लचिलो कार्यदिशालाई पहिलो त्रैमासिक समीक्षामार्फत निरन्तरता दिइएको नेपाल राष्ट्र बैंकले जनाएको छ। बैंकले आज जारी गरेको मौद्रिक नीति २०८२ /८३ को समीक्षामा केही खुकुला प्रावधान पनि थप गरिएको छ।

    समीक्षामा उल्लेख छ कि जेनजी आन्दोलनपश्चातको सरकारले सुशासन सुदृढ पार्दै व्यावसायिक वातावरण अनुकूल बनाउन गरेका नीतिगत प्रयास र केन्द्रीय बैंकद्वारा अवलम्बन गरिएको मौद्रिक सहजताले अर्थतन्त्र क्रमशः मजबुत हुँदै जाने अपेक्षा गरिएको छ।

    “अन्तरराष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी फिचले नेपालको सार्वभौम साख रेटिङमा गत वर्षकै ‘डबल बी माइनस’ कायम राखेको छ। आन्दोलनका क्रममा केही होटलमा क्षति भए पनि नेपालको शान्ति र सुरक्षा स्थिति देखेर पर्यटकहरू आश्वस्त छन्, जसका कारण बाह्य पर्यटक आगमन बढेको छ,” मौद्रिक नीतिको समीक्षामा भनिएको छ। नेपाल पर्यटन बोर्डका अनुसार, सन् २०२४ को पहिलो १० महिनामा ९ लाख ४१ हजार पर्यटक नेपाल आएका थिए भने सन् २०२५ को सोही अवधिमा करिब ९ लाख ४४ हजार पर्यटक भित्रिएका छन्।

    त्यस्तै, जलविद्युत् उत्पादनमा उल्लेख्य प्रगति भएको छ; पछिल्ला तीन महिनामा मात्र ३०९.२ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। सरकारले चालु खर्च नियन्त्रण गर्दै पुँजीगत खर्चका साना आयोजना घटाएर प्राथमिकतामा रहेका आयोजना तथा क्षतिको पुनर्निर्माणमा ध्यान दिएको हुँदा अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

    धानलगायत वर्षेनी लगाइने बालीको समयमा मनसुन ढिलो सुरु हुनु र केही समय भारी वर्षा हुनुका कारण बाढी–पहिरोले कृषिलगायत क्षेत्रमा असर पुर्‍याएको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्षको आर्थिक वृद्धि लक्ष्यभन्दा केही कम हुने प्रारम्भिक अनुमान प्रस्तुत गरेको छ।

    भारतमा पछिल्ला महिनामा उपभोक्ता मुद्रास्फीति अपेक्षाभन्दा कम रहेको छ। भारतीय रिजर्भ बैंकको अनुमानअनुसार आर्थिक वर्ष २०२५ /२६ मा भारतको मुद्रास्फीति २.६ प्रतिशतमा सीमित रहनेछ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा पनि सहजता आउने अपेक्षा छ।

    राष्ट्र बैंकले भनेको छ, “धानलगायत वर्षेनी बालीको उत्पादन सामान्यतया कम हुनुका साथै आगामी निर्वाचन खर्चले मुद्रास्फीतिमा केही दबाब पार्ने देखिन्छ। त्यसकारण आर्थिक वर्ष २०८२ /८३ मा औसत उपभोक्ता मुद्रास्फीति करिब ४ प्रतिशतको वरिपरि रहने अनुमान छ।”

    केन्द्रीय बैंकका अनुसार वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या क्रमशः बढ्दै गएको छ। आयातको तुलनामा विप्रेषण आप्रवाह स्थिर रहँदा चालु आर्थिक वर्षको बाँकी अवधिमा विदेशी विनिमय सञ्चिति पर्याप्त रहने अपेक्षा गरिएको छ। बैंकिङ क्षेत्रमा अधिक तरलता र न्यून ब्याजदरको अवस्था कायम छ। निक्षेप र कर्जाको भारित औसत ब्याजदर घट्दै गए पनि वास्तविक ब्याजदर धनात्मक रहेको छ।

    बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा अनुपात बढे पनि औसत पुँजी पर्याप्तता न्यूनतम स्तरभन्दा माथि रहेको छ। मौद्रिक नीति, विदेशी विनिमय सञ्चिति, मुद्रास्फीति र वित्तीय क्षेत्रको हालको अवस्था हेर्दा राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको सजग र लचिलो कार्यदिशालाई निरन्तरता दिँदै केही नियामक व्यवस्थामा परिमार्जन गरेको जनाएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend