म्याग्दी। जिल्लाको धौलागिरि गाउँपालिका–४ मा निर्माण हुन लागेको १४ मेगावाट क्षमताको मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु भएको छ।
म्याग्दी र गुर्जाखोलाको दोभानमा वडाध्यक्ष यामबहादुर घर्तीले पहुँचमार्ग निर्माण कार्यको सुरुआत गरेका छन्। प्रवर्द्धक कम्पनी एभरेष्ट इनर्जी एण्ड इन्फ्रास्ट्रक्चरका अनुसार दोभानदेखि अर्चेको फेदीमा निर्माण हुने बाँधस्थलसम्म करिब आठ किलोमिटर लामो पहुँचमार्ग निर्माण गरिनेछ।
कम्पनीका सम्पर्क व्यक्ति राम केसीका अनुसार विद्युत्गृहदेखि बाँधसम्म पहुँचमार्ग पुगेपछि सिभिल ठेकेदारमार्फत बाँध, सुरुङ र विद्युत्गृह निर्माणको काम अघि बढाइनेछ। पहुँचमार्गसँगै वित्तीय व्यवस्थापन, सिभिल तथा इलेक्ट्रोमेकानिकल ठेकेदार छनोटको प्रक्रिया पनि समानान्तर रूपमा अघि बढिरहेको छ।
सुरुङ निर्माणका क्रममा आवश्यक पर्ने विस्फोटक पदार्थको भण्डारण र सुरक्षाका लागि आयोजनास्थलमा नेपाली सेनाको पोष्ट राख्न आवश्यक पूर्वाधार निर्माण गर्ने तयारीसमेत भइरहेको छ।
अर्चेको फेदीमा बाँध र गुर्जा तथा म्याग्दी नदीको दोभानमा विद्युत्गृह रहने यस आयोजनामा चार किलोमिटर लामो सुरुङ निर्माण गरिनेछ। आयोजनाले विद्युत् खरिद–बिक्री सम्झौता गरिसकेको र विद्युत् विकास विभागबाट उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेको छ। बाँध र विद्युत्गृहबीचको हेड ३३७ मिटर रहेको छ भने आयोजनाको अनुमानित लागत प्रतिमेगावाट १६ करोड रुपैयाँ रहेको छ।
नदी प्रवाहमा आधारित यस आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले डाँडाखेतमा निर्माण गरेको १३२ केभी क्षमताको सबस्टेसनमार्फत केन्द्रीय प्रणालीमा जोडिनेछ। दोभानदेखि डाँडाखेतसम्म म्याग्दी तथा सहायक नदीमा निर्माणाधीन अन्य आयोजनासँग सहकार्य गर्दै आठ किलोमिटर लामो प्रशारण लाइन निर्माण गर्ने योजना रहेको छ।
धौलागिरि गाउँपालिका–४ क्षेत्र भएर बग्ने नदीहरूमा मुदीखोलाबाहेक ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ र ४६ दशमलव २५ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माणाधीन छन्। साथै ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले जेल्तुङदेखि दोभानसम्म बाँध जोड्ने पहुँचमार्ग निर्माणको तयारी गरिरहेको जनाइएको छ।


