दोस्रो संस्करणको एनपीएलको उपाधि लुम्बिनी लायन्सलाई, रोहित पौडेलले जिते कार

दोस्रो संस्करणको एनपीएलको उपाधि लुम्बिनी लायन्सलाई, रोहित पौडेलले जिते कार

ट्याक्स खबर
शनिवार, मंसिर २७ २०८२
ट्याक्स खबर
शनिवार, मंसिर २७ २०८२
  • images

    काठमाडौँ। लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको उपाधि जितेको छ।

    कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको फाइनल खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले हराउँदै उपाधि हात पारेको हो। सुदूरपश्चिम यसपटक पनि उपविजेतामै सीमित रह्यो। पहिलो संस्करणको फाइनलमा पनि सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग पराजित भएको थियो।

    उपाधिसँगै लुम्बिनी लायन्सले एक करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपैयाँमा चित्त बुझाएको छ।

    ८६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले नौ ओभरमै चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। लुम्बिनीका लागि दिनेश अधिकारीले सर्वाधिक ४२ रन बनाए। उनले १३ बलमा एक चौका र पाँच छक्का प्रहार गरे। डार्शी शर्टले १४ रन जोडे भने कप्तान रोहित पौडेलले १६ रन बनाए। निरोशन डिक्वेल ११ रनमा अविजित रहे। सन्दिप जोरा भने शून्यमा आउट भए।

    बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामीले दुई विकेट लिए भने अविनाश बोहोरा र दिपेन्द्रसिंह ऐरीले एक–एक विकेट हात पारे।

    यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमै सीमित भयो। सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए। कप्तान दिपेन्द्रसिंह ऐरीले १३ रन जोड्दा हरमीत सिंह र स्कट कुगेलिइनले समान १०–१० रन बनाए। अन्य ब्याट्सम्यानहरू दोहोरो अंकमा पुग्न सकेनन्।

    सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका बलरहरूले प्रभावशाली प्रदर्शन गरे। शेर मल्ल, रुबेन ट्रम्पेलमान र कप्तान रोहित पौडेलले समान तीन–तीन विकेट लिए भने टीका भण्डारीले एक विकेट हात पारे।

    लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा उत्कृष्ट नेपाली खेलाडीको उपाधिसहित कार पुरस्कार जितेका छन्। आफ्नो टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका पौडेल नेपाली खेलाडीमध्ये सर्वोत्कृष्ट घोषित हुँदै जेको जे फाइभ कारका हकदार बनेका हुन्।

    उक्त कारको बजार मूल्य करिब ६१ लाख रुपैयाँ रहेको छ। आयोजक तथा कम्पनी पक्षले इन्ट्रोडक्टरी मूल्यमा कार उपलब्ध गराउने तयारी गरेको जनाइएको छ। यस पुरस्कारमा टाटा र ग्लोबल आइएमई बैंक (जिबिआइएमई) सहप्रायोजकका रूपमा रहेका छन्।

    यसअघि पहिलो संस्करणमा उपविजेता बनेको सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले ओमोडा इ–फाइभ कार प्राप्त गरेका थिए। सो अवसरमा ओमोडा कम्पनीले करसमेत आफैं तिरेर ऐरीलाई ब्राण्ड एम्बास्डरसमेत बनाएको थियो।

    यस संस्करणमा लुम्बिनी लायन्सलाई च्याम्पियन बनाउने क्रममा पौडेलले ब्याटिङतर्फ उत्कृष्ट प्रदर्शन गरे। उनले १० इनिङ्समा २७६ रन बनाउँदै नेपाली खेलाडीमध्ये सर्वाधिक रन जोड्ने खेलाडी बने। समग्रमा भने पोखरा एभेन्जर्सका एडम रोसिङटन शीर्ष स्थानमा रहे, जसले सात इनिङ्समा ३२३ रन बनाएका छन्।

    बलिङतर्फ पनि प्रभावशाली देखिएका पौडेलले १० विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष आठभित्र स्थान बनाउन सफल भएका छन्।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend