महोत्तरी। बर्दिबास नगरपालिका–६ चौलिखामा २० मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना जडानको काम सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणको स्वीकृतिअनुसार टेरा सोल इनर्जी कम्पनीले आयोजनाको निर्माण थालेको हो ।
छ महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको यस आयोजनाको लागत करिब रु एक अर्ब २० करोड रहेको छ । आयोजनाका लागि बर्दिबास–६ र ७ का ८० भन्दा बढी किसानको करिब ४० बिघा जग्गा ३० वर्षका लागि लिजमा लिइएको छ ।
उत्पादन भएको विद्युत् ढल्केबर ग्रिड महाशाखामार्फत् महोत्तरी र धनुषाका करिब १० हजारभन्दा बढी परिवारमा आपूर्ति गरिनेछ । आयोजनाअन्तर्गत चार वटा ट्रान्सफर्मर, ६८ वटा इन्भर्टर र तीन लाख ३३ हजार सौर्य प्यानल जडान गरिने जनाइएको छ ।
आयोजनाको शुभारम्भ मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरेका हुन् । यस आयोजनाबाट स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुका साथै बाँझो जग्गाको उपयोग हुने अपेक्षा गरिएको छ ।


