काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले दुईओटा सडक आयोजनाका लागि करिब २ करोड ३७ लाख अमेरिकी डलर बराबरको सम्झौता गरेको छ।
एमसिए–नेपालका अनुसार एमसिसी नेपाल कम्प्याक्टअन्तर्गत सडक मर्मत आयोजना कार्यान्वयन गर्दै पूर्व–पश्चिम राजमार्गको धान खोलादेखि लमहीसम्मको खण्ड स्तरोन्नतिका लागि शर्मा–कुमार संयुक्त उपक्रमसँग करिब २ करोड अमेरिकी डलर बराबरको सम्झौता गरिएको हो।
यसैगरी, उक्त सडकखण्डको स्तरोन्नति तथा नारायणघाट–मुग्लिङ सडकखण्डको आवधिक मर्मत कार्यको सुपरिवेक्षणका लागि इन्टरनेसनल कन्सल्टेन्ट्स एण्ड टेक्नोक्राट्स प्रालिसँग करिब ३६ लाख ६० हजार अमेरिकी डलर मूल्य बराबरको सम्झौता गरिएको छ।
यी आयोजनाअन्तर्गत पूर्व–पश्चिम राजमार्गको धान खोलादेखि लमहीसम्मको करिब ४० किलोमिटर सडकखण्ड स्तरोन्नति गरी १२ मिटर चौडा बनाइनेछ भने नारायणघाट–मुग्लिङ सडकखण्डको आवधिक मर्मत गरिनेछ।
सम्झौता हस्ताक्षर कार्यक्रममा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र शर्मा–कुमार संयुक्त उपक्रमका प्रतिनिधि सौरभ शर्माले धान खोलादेखि लमहीसम्मको सडक स्तरोन्नति कार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।


