काठमाडौं। कृषि क्षेत्रको आधुनिकीकरण तथा प्रविधि प्रवर्द्धन गर्ने उद्देश्यका साथ यस वर्षको बृहत् कृषि सम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनी ‘नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो’ माघ २ देखि ४ गतेसम्म भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा सञ्चालन हुने भएको छ।
आयोजक संस्था मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रा.लि.ले प्रदर्शनीमा नेपाल, भारत, चीनलगायत विभिन्न देशका कृषि क्षेत्रसँग सम्बन्धित कम्पनीका १०० भन्दा बढी स्टल रहने जनाएको छ। यसमा कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाई–भैंसी पालन, डेरी व्यवसाय, कृषि औजार तथा उपकरण, पशु चिकित्सा सेवा, खाद्य प्रविधि, कीटनाशक, मल, बीउबिजन, कृषि तालिम तथा वित्तीय सेवासम्बन्धी जानकारी प्राप्त गर्न सकिनेछ।
उक्त प्रदर्शनीले देश तथा विदेशबाट आउने उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी, संघ–संस्थाका प्रतिनिधि तथा कृषकलाई आधुनिक कृषि प्रविधि अवलोकन गर्ने, अनुभव आदान–प्रदान गर्ने र आफ्ना जिज्ञासा समाधान गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
अन्तर्राष्ट्रिय प्रदर्शनीका लागि सीमित स्टल मात्र बाँकी रहेकाले स्टल बुकिङ तीव्र गतिमा भइरहेको आयोजकले जनाएको छ। निःशुल्क प्रवेशको व्यवस्था गरिएको यस प्रदर्शनीमा साना कृषि औजारदेखि डेरी मेसिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठूला उपकरणसम्मको प्रदर्शन र प्रत्यक्ष डेमो समेत गरिनेछ। यसले नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा महत्वपूर्ण योगदान पुर्याउने आयोजकको विश्वास छ।
प्रदर्शनीमार्फत नेपालका लागि उपयुक्त नवीनतम कृषि प्रविधि तथा सेवाको पहिचान गर्न मद्दत पुग्ने र ती प्रविधिको प्रयोगबाट कृषि उत्पादन वृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बनाउन टेवा पुग्ने अपेक्षा गरिएको छ।
यस अन्तर्राष्ट्रिय प्रदर्शनीको प्रवर्द्धकको भूमिकामा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम रहेका छन्। सहयोगी संस्थामा राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि., राष्ट्रिय कृषक समूह महासंघ–नेपाल, गाउँपालिका राष्ट्रिय महासंघ–नेपाल, नेपाल पोल्ट्री महासंघ, च्याउ उत्पादक किसान संघ–नेपाल तथा चितवन उद्योग संघ रहेका छन्।


