काठमाडौं। गणतन्त्र दिवसको अवसरमा जारी सन्देशमार्फत राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अब आर्थिक समृद्धि, सुशासन र जनमुखी सेवा प्रवाहसँग जोड्नुपर्नेमा जोड दिएका छन्। ०६५ जेठ १५ गते राजतन्त्र अन्त्य गर्दै नेपाली जनताले आफ्नो भाग्यको फैसला आफैं गर्ने ऐतिहासिक निर्णय गरेको स्मरण गर्दै राष्ट्रपतिले अबको मुख्य चुनौती राजनीतिक उपलब्धिलाई आर्थिक रूपान्तरणमा बदल्नु रहेको बताएका हुन्।
राष्ट्रपतिको सन्देशमा संविधानले परिकल्पना गरेको सामाजिक न्याय, समावेशी विकास र आर्थिक समृद्धिका लक्ष्य हासिल गर्न संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उल्लेख छ। निजी क्षेत्र र नागरिक समाजलाई पनि विकास यात्राको साझेदारका रूपमा अघि बढाउनुपर्नेमा जोड दिइएको छ।
देशले एकातिर १९औं गणतन्त्र दिवस मनाइरहँदा अर्कोतर्फ अर्थमन्त्री स्वर्णिम वाग्लेले आजै संसदमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दैछन्। यही सन्दर्भलाई लिएर राजनीतिक परिवर्तनपछि आर्थिक उपलब्धि कति हासिल भयो भन्ने प्रश्न पुनः बहसमा आएको छ।
गणतन्त्र स्थापनापछि नेपालले संघीय संरचना, समावेशी प्रतिनिधित्व र लोकतान्त्रिक अधिकार विस्तारमा महत्वपूर्ण उपलब्धि हासिल गरेको भए पनि आर्थिक क्षेत्रमा अपेक्षाअनुसार रूपान्तरण हुन नसकेको टिप्पणी हुँदै आएको छ। उच्च बेरोजगारी, युवाको विदेश पलायन, सुस्त लगानी, कमजोर उत्पादन र आयातमुखी अर्थतन्त्र अझै पनि मुख्य चुनौतीका रूपमा कायम छन्।
राष्ट्रपतिले सन्देशमा ‘दिगो, फराकिलो र समन्यायिक आर्थिक वृद्धि’को आवश्यकता औंल्याउँदै राष्ट्रिय एकता र सार्वभौमिकता जोगाउँदै समृद्ध समाज निर्माण गर्नुपर्ने उल्लेख छ।
राष्ट्रपतिले गणतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनमा सहभागी नागरिक र नेतृत्वको योगदानको प्रशंसा गरेका छन्।


