इसराइल-लेबनन युद्धविराम, इरान युद्ध पनि रोकिएला?

इसराइल-लेबनन युद्धविराम, इरान युद्ध पनि रोकिएला?

ट्याक्स खबर
बिहिवार, जेठ २१ २०८३
ट्याक्स खबर
बिहिवार, जेठ २१ २०८३
  • images

    काठमाडौँ। मध्यपूर्वमा बढ्दो तनावका बीच अमेरिकाको सक्रिय मध्यस्थतामा इसराइल र लेबनन पूर्ण युद्धविराम लागू गर्न सहमत भएका छन्। दक्षिणी लेबननमा इरान समर्थित हिजबुल्लाह समूह र इसराइली सेनाबीच भइरहेको भीषण लडाइँ रोक्न अमेरिकी कूटनीतिक प्रयास सफल भएसँगै यो सहमति जुटेको हो।

    बुधबार अमेरिकासँग जारी गरिएको एक संयुक्त विज्ञप्तिअनुसार, हिजबुल्लाहले दक्षिणी लेबननको लिटानी क्षेत्रबाट आफ्ना लडाकुहरू पूर्ण रूपमा फिर्ता गर्ने र इसराइलमाथिका आक्रमण बन्द गर्ने सर्तमा दुवै पक्ष शत्रुतापूर्ण गतिविधि रोक्न तयार भएका हुन्।

    यो सहमति हुनुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कूटनीतिक दबाबले मुख्य भूमिका खेलेको बताइएको छ। इसराइलले लेबननको राजधानी बेरूतसहितका क्षेत्रमा आक्रमण तीव्र पारेपछि ट्रम्पले इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई फोन गरेर कडा चेतावनी दिएका थिए। ट्रम्पको चेतावनीपछि इसराइलले बेरूतमा हमला गर्ने योजना स्थगित गरेको थियो, जसले गर्दा मङ्गलवार आंशिक युद्धविराम हुँदै बुधबार पूर्ण युद्धविरामको मार्ग प्रशस्त भयो।

    यसअघि फेब्रुअरी अन्त्यमा अमेरिका र इसराइलले इरानमाथि गरेको संयुक्त आक्रमणपछि हिजबुल्लाहले इसराइलमा रकेट प्रहार गरेको थियो। त्यसको जवाफमा मार्चमा इसराइली सेना लेबननभित्रै प्रवेश गरेर सैन्य कारबाही चलाइरहेको थियो।

    इरान युद्ध पनि रोकिएला?
    यस युद्धविरामले इरान युद्ध केही हदसम्म रोकिने आकलन गरिएको छ।

    इरानले अमेरिकासँगको जुनसुकै सम्झौता वा संवादका लागि इसराइल र लेबननबीचको लडाइँ अन्त्य हुनुपर्ने मुख्य सर्त राखेको थियो। त्यसैले लेबननमा युद्धविराम हुनुले इरान र अमेरिकाबीच ब्याक-च्यानल कूटनीति सुरु हुने र युद्धको सम्भावना तत्कालका लागि टर्ने सकारात्मक वातावरण बनाएको छ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यम फाइनान्सियल टाइम्सका अनुसार यो युद्धविराम कति लामो समय टिक्छ भन्नेमा अझै संशय छ। यसअघि अप्रिलमा पनि अमेरिकाकै मध्यस्थतामा भएको युद्धविराम सहमति मैदानमा टिक्न सकेको थिएन।

    यस घोषणाबारे हिजबुल्लाहले अहिलेसम्म कुनै आधिकारिक टिप्पणी गरेको छैन। अर्कोतर्फ, सहमति भइसके पनि इसराइलले मैदानमा आफ्नो सैन्य गतिविधि पूर्ण रूपमा रोकिनसकेकाले संशय कायमै छ।

    लेबननमा भएको यो युद्धविराम इरान(अमेरिका सिधा युद्ध रोक्ने दिशातर्फ महत्त्वपूर्ण उपलब्धि त हो, तर यसको दिगोपन हिजबुल्लाहले लिटानी क्षेत्रबाट आफ्ना लडाकु कति इमानदारीपूर्वक फिर्ता गर्छ। इसराइलले लेबननमा आफ्नो सैन्य हस्तक्षेप कसरी रोक्छ भन्ने कुरामा निर्भर गर्दछ। यदि यो युद्धविराम टिकिरह्यो भने इरानसँगको युद्धको खतरा लगभग टर्नेछ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend