काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गलत विवरण पेश गरी अर्काकी छोरीलाई आफ्नी छोरीका रूपमा जन्मदर्ता तथा नागरिकता दिलाएको आरोपमा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार सिंहले वीरगञ्ज महानगरपालिका–३ का तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन वडा सदस्य तथा कार्यवाहक वडा अध्यक्ष तुफैल अख्तर ठकुराई र जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोख्रेलसँग मिलेमतो गरी भट्टराई थर भएकी महिलाकी छोरीलाई आफ्नी छोरी ‘रुविना श्रेष्ठ’ का रूपमा जन्मदर्ता गराएको आरोप लगाइएको छ।
अख्तियारको अनुसन्धानबाट सिंहले सूचक बनेर गलत विवरणसहित फाराम भरी ०७१ कात्तिक २० गते जन्मदर्ता प्रमाणपत्र प्राप्त गरेको र सोही प्रमाणपत्रका आधारमा ०७५ साउन १३ गते जिल्ला प्रशासन कार्यालय पर्साबाट रुविना श्रेष्ठका नाममा नागरिकता प्रमाणपत्र जारी गराएको देखिएको जनाएको छ।
आयोगका अनुसार जन्मदर्ता तथा नागरिकता जारी गर्ने क्रममा सरकारी कागजातमा जानीजानी गलत विवरण समावेश गर्ने, कागजात सच्याउने, थपघट गर्ने तथा अभिलेख लुकाउनेजस्ता कार्य भएको पाइएको छ।
यस्तै, नागरिकता प्रकरणबारे छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको समितिका तत्कालीन संयोजक उपसचिव पुस्कर राना र सदस्य शाखा अधिकृत पर्शुराम पोखरेलले वास्तविक तथ्य ढाकछोप गर्दै गलत प्रतिवेदन तयार गरेको आरोप पनि अख्तियारले लगाएको छ। उनीहरूले अनुसन्धान आवश्यक रहेको विषयलाई समेत बेवास्ता गरी यथार्थ तथ्य लुकाएर प्रतिवेदन पेश गरेको आयोगको निष्कर्ष छ।
अख्तियारले वडा सचिव राय, वडा अध्यक्ष ठकुराई तथा प्रशासकीय अधिकृत पोख्रेलविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९, ११ र १२ अन्तर्गत कैद तथा जरिवानाको मागदाबी गरेको छ।
त्यसैगरी, छानबिन समितिका संयोजक र सदस्य रहेका राना र पोखरेलविरुद्ध ऐन अनुसार मुद्दा दायर गरिएको छ।
मेयर सिंह र सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१० निवासी रिता भट्टराईलाई भने मुख्य कसुरमा सहयोग पुर्याएको तथा लाभ लिएको आरोपमा भ्रष्टाचार निवारण ऐनको दफा २२ बमोजिम मुख्य कसुरदारसरह सजायको मागदाबी गरिएको अख्तियारले जनाएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिअनुसार उक्त प्रकरणमा संलग्न सबै प्रतिवादीविरुद्ध सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।


