नेपालमै विश्वस्तरीय डाटा पूर्वाधार, एनसेलको डाटा सेन्टरले पायो अन्तर्राष्ट्रिय ‘रेटेड-३’ मान्यता

नेपालमै विश्वस्तरीय डाटा पूर्वाधार, एनसेलको डाटा सेन्टरले पायो अन्तर्राष्ट्रिय ‘रेटेड-३’ मान्यता

ट्याक्स खबर
बुधवार, जेठ २७ २०८३
ट्याक्स खबर
बुधवार, जेठ २७ २०८३
  • images

    काठमाडौँ । नेपालको डिजिटल पूर्वाधार विकासमा नयाँ कोसेढुङ्गा थपिएको छ।  एनसेल बिजनेसअन्तर्गत ललितपुरको नख्खुमा सञ्चालनमा रहेको अत्याधुनिक डाटा सेन्टरले विश्व प्रतिष्ठित एएनएसआई/टीआईए-९४२-सी रेटेड ३ डिजाइन एन्ड कन्स्ट्रकटेड फसिलिटी सर्टिफिकेशन प्राप्त गरेको छ।

    डिजाइन र निर्माण दुवै पक्षमा यो अन्तर्राष्ट्रिय प्रमाणीकरण हासिल गर्ने एनसेल डाटा सेन्टर नेपालकै पहिलो पूर्वाधार बनेको छ। यससँगै नेपालमा सञ्चालित डाटा सेन्टरहरूले अन्तर्राष्ट्रिय स्तरको विश्वसनीयता र गुणस्तर हासिल गर्न सक्ने क्षमता रहेको सन्देशसमेत प्रवाह भएको छ।

    यो प्रमाणीकरणले डाटा सेन्टरमा उच्च उपलब्धता, अतिरिक्त सुरक्षा प्रणाली र आकस्मिक परिस्थितिमा समेत सेवा निरन्तर सञ्चालन गर्ने क्षमता रहेको पुष्टि गरेको छ। एनसेलका अनुसार पूर्वनिर्धारित मर्मतसम्भार वा आकस्मिक प्राविधिक समस्याका बेला पनि सेवा अवरुद्ध नहुने गरी पूर्वाधार तयार गरिएको छ।

    डाटा सेन्टरमा जडान गरिएका अतिरिक्त विद्युत् आपूर्ति, कुलिङ तथा नेटवर्क प्रणालीका कारण झण्डै ९९.९८२ प्रतिशत अपटाइम सुनिश्चित हुने बताइएको छ। यसले बैंकिङ, बिमा, सरकारी सेवा तथा निजी क्षेत्रका महत्वपूर्ण डिजिटल प्रणालीहरूलाई निरन्तर सञ्चालनमा राख्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

    प्रमाणीकरण प्राप्तिपछि एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले यसलाई कम्पनी मात्र नभई नेपालकै डिजिटल भविष्यका लागि ऐतिहासिक उपलब्धि भएको बताएका छन्। उनका अनुसार विश्वस्तरीय डिजिटल पूर्वाधारले स्थानीय व्यवसायलाई आत्मविश्वासका साथ विस्तार गर्न र सरकारको डिजिटल रूपान्तरण अभियानलाई गति दिन मद्दत गर्नेछ।

    एनसेल डाटा सेन्टरले यसअघि सूचना सुरक्षा, गोपनीयता, गुणस्तर व्यवस्थापन तथा वातावरणीय उत्तरदायित्वसम्बन्धी I आईएसओ २७००१ र आइएसओ २७७०१ लगायतका अन्तर्राष्ट्रिय मान्यता पनि प्राप्त गरिसकेको छ।

    विशेषगरी बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, सरकारी निकाय, साना तथा मझौला उद्यम तथा ठूला कर्पोरेट क्षेत्रका लागि यो उपलब्धि महत्वपूर्ण मानिएको छ। अब यस्ता संस्थाले आफ्ना संवेदनशील डाटा देशभित्रै सुरक्षित रूपमा होस्ट गर्न सक्नेछन्, जसले विदेशी पूर्वाधारमा रहेको निर्भरता कम गर्नेछ।

    साइबर आक्रमण, प्राविधिक अवरोध वा प्राकृतिक विपत्तिको अवस्थामा समेत सेवा सञ्चालनलाई निरन्तरता दिन सक्ने विपद् पुनःस्थापना प्रणाली र बहुस्तरीय ब्याकअप संरचनाले डाटा सुरक्षालाई थप बलियो बनाएको छ।

    सूचना प्रविधि क्षेत्रका जानकारहरूका अनुसार विश्वस्तरीय डाटा सेन्टरको विकासले नेपालको ‘डाटा सार्वभौमिकता’ सुदृढ पार्नुका साथै देशलाई क्षेत्रीय डिजिटल सेवा केन्द्रका रूपमा स्थापित गर्ने आधार तयार गरेको छ। नेपालभित्रै सुरक्षित डाटा भण्डारण र प्रशोधनको वातावरण बनेसँगै डिजिटल अर्थतन्त्र विस्तार र लगानी आकर्षणमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend