काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यमा लगातार तीव्र गिरावट आउने क्रम जारी छ। बुधबार ऐतिहासिक गिरावट आएको सुनको मूल्य आज बिहीबार पनि व्यापक मात्रामा घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार बिहीबार सुनको भाउ तोलामा ५ हजार १०० रुपैयाँले घटेर २ लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको छ। बुधबार मात्रै सुनको भाउ तोलामा १० हजार १०० रुपैयाँले घटेर २ लाख ९१ हजार ८०० रुपैयाँमा झरेको थियो। यससँगै पछिल्लो दुई दिनमै सुनको मूल्यमा तोलामा कुल १५ हजार २०० रुपैयाँको भारी गिरावट आइसकेको छ।
यसअघि गत मंगलबार तोलामा दुई हजार रुपैयाँ बढेर सुनको मूल्य ३ लाख १ हजार ९०० रुपैयाँ पुगेको थियो। नेपाली बजारमा गत माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च बिन्दु अर्थात् प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो।
चाँदी पनि थप सस्तियो
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आउने क्रम रोकिएको छैन। आज चाँदीको भाउ प्रतितोला ९० रुपैयाँले घटेर ४ हजार ६५० रुपैयाँमा झरेको छ।
हिजो बुधबार पनि चाँदी तोलामा १८५ रुपैयाँले घटेर ४ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो। दुई दिनको अवधिमा चाँदीको मूल्य तोलामा २७० रुपैयाँले घटिसकेको छ।
गत माघ १५ गते चाँदीको मूल्य तोलाको ७ हजार ५०५ रुपैयाँ पुगेको थियो भने माघ १८ गते तोलामा १५ सय ६५ रुपैयाँको गिरावट आएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावकै कारण स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा यस किसिमको ठूलो गिरावट देखिएको व्यवसायीहरूले बताएका छन्। लगातार मूल्य घट्न थालेपछि बजारमा सुन किन्ने ग्राहकहरूको चहलपहल बढ्न सक्ने अनुमान गरिएको छ।


