काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का नवनिर्वाचित अध्यक्ष मोहनकुमार डाँगी ले पदभार ग्रहण गर्दै समग्र ऊर्जा क्षेत्र एकताबद्ध भएर अघि बढ्ने विश्वास व्यक्त गरेका छन्। बुधबार पदभार ग्रहण गर्दै उनले चुनावी प्रतिस्पर्धा सकिएको र अब सबै सदस्यलाई समेटेर साझा लक्ष्यका साथ काम गरिने बताए।
‘चुनावको बेला जे भयो, सकियो। अब हामी एकढिक्का भएर काम गर्छौं। सबै साथीलाई पूर्ण अधिकारसहित जिम्मेवारी बाँडफाँट गरेर कार्यसम्पादनलाई प्रभावकारी बनाउनेछौं,’ अध्यक्ष डाँगीले भने।
यसअघि इप्पानको तीन कार्यकालसम्म विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका डाँगी चौथो कार्यकालमा संस्थाको नेतृत्वमा पुगेका हुन्।
निवर्तमान अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रसँग सम्बन्धित विषयमा सार्वजनिक अभिव्यक्ति दिँदा विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिए। कार्यसमितिका सदस्यहरूको भनाइले समेत सम्पूर्ण संस्थाको धारणा प्रतिनिधित्व गर्ने भएकाले तथ्य र सल्लाहका आधारमा मात्रै धारणा सार्वजनिक गर्नुपर्ने उनको भनाइ थियो।
‘कुनै विषयको पर्याप्त जानकारी छैन भने तत्काल प्रतिक्रिया नदिई पछि स्पष्ट रूपमा बोल्न सक्नुपर्छ। बोलाइमा असावधानी हुँदा करिब १५ खर्ब रुपैयाँ लगानी भएको ऊर्जा क्षेत्रले त्यसको मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्छ,’ उनले बताए।
नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन ले नेतृत्व परिवर्तन भए पनि ऊर्जा क्षेत्रका साझा मुद्दामा सबै पक्षबीच सहकार्य कायम रहने बताए। उनले निवर्तमान नेतृत्वले स्थापना गरेको कार्यशैली र उपलब्धिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
करिब ७०० ऊर्जा उत्पादक कम्पनी आबद्ध रहेको इप्पानको नयाँ नेतृत्व गत जेठ २९ गते चयन भएको थियो। असार १ गते सपथ ग्रहण गरेको नयाँ कार्यसमितिले बुधबारदेखि औपचारिक रूपमा कार्यभार सम्हालेको हो।


