रोपेको धान पनि सुक्न थाल्योः पानी नपर्दा कैलालीमा रोपेको धान पनि खेतमै सुक्न थालेको छ। खेतमा चिरा पर्न थालेको छ। तस्बिर सौजन्य : राम दहित
काठमाडौं। असारको मध्यसम्म आइपुग्दा पनि देशभर अपेक्षित बर्खे झरी सुरु हुन नसक्दा यस वर्षको धान खेती गम्भीर संकटमा परेको छ।
मनसुन निर्धारित समयभन्दा ६ दिन ढिलो भित्रिएको मात्र होइन, भित्रिएपछि पनि कमजोर बनेकाले अधिकांश जिल्लामा रोपाइँ ठप्प भएको छ। पर्याप्त वर्षा नहुँदा धान उत्पादन घट्ने, खाद्य सुरक्षामा चुनौती थपिने र चामल आयातमा निर्भरता अझ बढ्ने चिन्ता बढेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुन कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशका केही क्षेत्र तथा लुम्बिनी प्रदेशको पूर्वी भागसम्म मात्र पुगेको छ। पश्चिमी नेपालमा भने अझै मनसुन प्रवेश गर्न सकेको छैन। मनसुन पुगेका क्षेत्रमा पनि वर्षा कमजोर रहेकाले रोपाइँ हुन सकेको छैन।
सुदूरपश्चिम र कर्णाली प्रदेशमा अझै पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम रहेकाले उल्लेख्य वर्षा हुन सकेको छैन। कोशी प्रदेश र केही पहाडी क्षेत्रमा मात्र छिटफुटदेखि मध्यम वर्षा भइरहेको छ।
एलनिनोको असर, तराईमा वर्षाको साटो तातो लहर
जलवायु वैज्ञानिकहरूले यसअघि नै प्रशान्त महासागरमा विकसित एलनिनोका कारण दक्षिण एसियाली मनसुन कमजोर रहने अनुमान गरेका थिए। त्यसको प्रभाव नेपालमा स्पष्ट देखिन थालेको छ।
मौसम पूर्वानुमान महाशाखाले आइतबार सुदूरपश्चिम र लुम्बिनी प्रदेशको पश्चिमी तराईमा वर्षाको सट्टा तातो लहर चलिरहेको छ। पानी पर्ने मुख्य मौसममै तातो हावा चल्न थालेपछि खेतीपाती थप प्रभावित हुने देखिएको छ।
मध्य असारसम्म ११.३३ प्रतिशत मात्रै रोपाइँ
कृषि विभागका अनुसार असार मध्यसम्म देशभर कुल धान खेतीयोग्य क्षेत्रफलको १.३३ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ सम्पन्न भएको छ।
नेपालमा बर्खे सिजनमा करिब १३ लाख ८१ हजार ४ सय ८८ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। तर आकाशे पानीको भरमा रहेका अधिकांश खेत अझै बाँझै छन् भने धेरै ठाउँमा ब्याडमै राखिएको बीउसमेत सुक्न थालेको किसानको गुनासो छ।
उत्पादन घटे आयातको दबाब अझ बढ्ने
गत आर्थिक वर्ष नेपालमा प्रतिहेक्टर उत्पादकत्व बढेर ४.१९ टन पुगेपछि कुल ५९ लाख ५५ हजार टन धान उत्पादन भएको थियो। यद्यपि वार्षिक करिब ७० लाख टन धान आवश्यक पर्ने भएकाले मुलुकमा हरेक वर्ष झण्डै १० लाख टन धान अपुग हुँदै आएको छ।
यो अभाव पूर्ति गर्न अर्बौं रुपैयाँ बराबरको चामल आयात गर्नुपर्ने अवस्था छ। यस वर्ष समयमै रोपाइँ हुन नसके उत्पादनमा उल्लेख्य गिरावट आउने सम्भावना रहेकाले खाद्यान्न आयातको दबाब अझ बढ्ने कृषि विज्ञहरूको चेतावनी छ।
तीन दिनको पूर्वानुमानः पूर्वमा भारी वर्षा, पश्चिम अझै प्रतीक्षामा
मौसम विभागका अनुसार आगामी तीन-चार दिनभित्र मनसुन कर्णाली र सुदूरपश्चिमसम्म फैलिने सम्भावना देखिए पनि तत्काल देशव्यापी बर्खे झरी हुने संकेत छैन।
आइतबार कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा हिमाली क्षेत्रमा मध्यम वर्षा, कोशीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। तर, पश्चिमी तराईमा तातो लहर चलिरहेको छ।
सोमबार कोशी, बागमती र गण्डकीका धेरै स्थानमा वर्षा, कोशीमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। मधेश, बागमती र गण्डकीका केही स्थानमा पनि भारी वर्षा तथा तराईमा हावाहुरी चल्न सक्नेछ।
मंगलबार पहाडी तथा हिमाली क्षेत्रमा वर्षा जारी रहने, कोशी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना कायमै तथा तराई क्षेत्रमा हावाहुरीको जोखिम छ।


