यूएईका लगानीकर्तालाई ढकालले भने- नेपाल लगानीका लागि तयार छ, श्रम र रेमिट्यान्सभन्दा माथि उठेर सहकार्य गरौँ

यूएईका लगानीकर्तालाई ढकालले भने- नेपाल लगानीका लागि तयार छ, श्रम र रेमिट्यान्सभन्दा माथि उठेर सहकार्य गरौँ

ट्याक्स खबर
शनिवार, आषाढ २७ २०८३
ट्याक्स खबर
शनिवार, आषाढ २७ २०८३
  • images

    काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (यूएई) का लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह गर्दै अहिले नेपाल लगानीका लागि उपयुक्त समय रहेको बताएका छन्।

    यूएईका विदेश व्यापारमन्त्री डा थानी अहमद अल जेयौदीको नेतृत्वमा नेपाल भ्रमणमा आएको सरकारी तथा निजी क्षेत्रको उच्चस्तरीय प्रतिनिधिमण्डलको सम्मानमा चन्द्रागिरिमा आयोजित रात्रिभोज कार्यक्रममा ढकालले नेपाल–यूएई सम्बन्धलाई अब श्रम र रेमिट्यान्समा मात्र सीमित नराखी व्यापार, लगानी, नवप्रवर्तन, उद्यमशीलता र संयुक्त लगानीतर्फ विस्तार गर्नुपर्नेमा जोड दिए।

    उनले सन् २०२७ मा नेपाल–यूएई कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा हुने उल्लेख गर्दै उक्त अवसरलाई आर्थिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउने माध्यम बनाउनुपर्ने बताए।

    ढकालका अनुसार नेपाल र यूएईबीच द्विपक्षीय लगानी सम्झौता (बीआईए), दोहोरो कर मुक्ति सम्झौता (डीटीएए) तथा व्यापक आर्थिक साझेदारी सम्झौता (सीईपीए)सम्बन्धी छलफल सकारात्मक रूपमा अघि बढिरहेको छ। यी सम्झौताले लगानीकर्ताको विश्वास बढाउनुका साथै निजी क्षेत्रबीचको सहकार्य र द्विपक्षीय व्यापारलाई थप मजबुत बनाउने उनको विश्वास छ।

    उनले नेपालमा जलविद्युत्, पर्यटन, डिजिटल भुक्तानी, वित्तीय प्रविधि, सहरी पूर्वाधार, कृषि, उत्पादनमूलक उद्योग तथा आपूर्ति शृंखला सेवामा ठूलो लगानी सम्भावना रहेको उल्लेख गरे। यूएईसँग रहेको प्रविधि, अनुभव र लगानी क्षमता नेपालको विकास प्राथमिकतासँग मेल खाने भएकाले संयुक्त लगानीमार्फत विश्वस्तरीय परियोजना विकास गर्न सकिने उनको भनाइ थियो।

    आइएमई ग्रुपले बैंकिङ, रेमिट्यान्स र डिजिटल भुक्तानी क्षेत्रमा यूएईका वित्तीय संस्थासँग लामो समयदेखि सहकार्य गर्दै आएको उल्लेख गर्दै ढकालले आगामी चरणमा पर्यटन पूर्वाधार, केबलकार, जलविद्युत् तथा एकीकृत मनोरञ्जन पूर्वाधारमा समेत संयुक्त लगानी विस्तार गर्न सकिने प्रस्ताव गरे।

    एफएनसीसीआईको अध्यक्ष रहँदा दुबईमा नेपाल-यूएई व्यापार सम्मेलन आयोजना गरेको तथा विश्व सरकार सम्मेलनमा सहभागी भएको अनुभव स्मरण गर्दै उनले यूएईले नेपाललाई सम्भावनायुक्त लगानी गन्तव्यका रूपमा हेर्ने विश्वास अझ बलियो भएको बताए।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend