काठमाठौं। ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डंगोल निर्वाचित भएका छन्। परिषद्को ३०औँ र ३१औँ वार्षिक साधारणसभाअन्तर्गत सम्पन्न निर्वाचनमा उनले प्रतिद्वन्द्वी प्रश्रय राजभण्डारीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन्।
निर्वाचन अधिकृत हरिप्रसाद पंगेनीका अनुसार डंगोलले ७२८ मत प्राप्त गर्दा राजभण्डारीले ३६५ मत पाए। आगामी दुई वर्षे कार्यकालका लागि भएको निर्वाचनमा परिषद्का एक हजार ३०९ मतदातामध्ये एक हजार २२५ मत खसेको थियो।
निर्वाचनबाट प्रथम उपाध्यक्षमा राजीव पाण्डे, द्वितीय उपाध्यक्षमा दावाङ (दावा) तामाङ र तृतीय उपाध्यक्षमा रमेश थापा निर्वाचित भएका छन्।
त्यस्तै, महासचिवमा पशुपति कँडेल ७२० मतसहित विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी पुण्यराम लागेजुले ३३३ मत प्राप्त गरे। सचिवमा दिलिप कँडेल र कोषाध्यक्षमा किन्चु लामु भुटिया श्रेष्ठ निर्वाचित भएका छन्।
सदस्य पदमा सुरेन्द्र डंगोल, बालकृष्ण खनाल, सानुकाजी महर्जन, रोशन प्रधान (श्रेष्ठ), विश्वमान प्रधान, लिजा मानन्धर, कृष्णबहादुर सेढाईँ र चन्द्रा तामाङ विजयी भएका छन्।


