बजेट खर्च होइन, परिणामबाट विकासको मूल्यांकन हुन्छ : ऊर्जामन्त्री श्रेष्ठ

बजेट खर्च होइन, परिणामबाट विकासको मूल्यांकन हुन्छ : ऊर्जामन्त्री श्रेष्ठ

आइतवार, श्रावण ३ २०८३
आइतवार, श्रावण ३ २०८३
  • images

    काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले अब विकास आयोजनाको सफलता बजेट खर्चको आधारमा नभई समयमै सम्पन्न भएको, लागत अनुशासन कायम गरेको र नागरिकले प्रत्यक्ष लाभ पाएको परिणामका आधारमा मूल्यांकन गरिने बताएका छन्।

    ६४औँ इन्जिनियर्स दिवसका अवसरमा नेपाल इन्जिनियर्स एसोसिएसनले आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले इन्जिनियरिङलाई केवल पेशा नभई राष्ट्र निर्माणको अभियान भएको उल्लेख गर्दै गुणस्तरीय, दिगो र वातावरणमैत्री पूर्वाधार निर्माणमा इन्जिनियरहरूको भूमिका निर्णायक रहेको बताए।

    उनले सरकारले जलविद्युत् उत्पादन विस्तार, राष्ट्रिय तथा अन्तरदेशीय प्रसारण सञ्जाल सुदृढीकरण, सिँचाइ प्रणालीको आधुनिकीकरण, ऊर्जा सुरक्षा, नवीकरणीय ऊर्जा प्रवर्द्धन, डिजिटल पूर्वाधार विस्तार तथा जलवायु अनुकूल विकासलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिए।

    मन्त्री श्रेष्ठले विकास आयोजनामा अब व्यावसायिक दक्षता, नैतिकता, पारदर्शिता र नवप्रवर्तन मुख्य मापदण्ड हुने स्पष्ट पार्दै इन्जिनियरहरूले समय, लागत र गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताए।

    ऊर्जा क्षेत्रलाई नेपालको आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा अघि बढाइएको उल्लेख गर्दै उनले जलविद्युत्, प्रसारण पूर्वाधार, क्षेत्रीय विद्युत् व्यापार र आधुनिक प्रविधिको विस्तारमा दक्ष इन्जिनियरहरूको भूमिका अझ महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।

    पूर्वाधार विकासलाई कङ्क्रिट र स्टिलका संरचनामा मात्र सीमित गर्न नहुने उल्लेख गर्दै मन्त्री श्रेष्ठले उत्कृष्ट डिजाइन, गुणस्तरीय निर्माण र जिम्मेवार प्राविधिक निर्णयले लाखौँ नागरिकको जीवन परिवर्तन गर्न सक्ने बताए। ‘हरेक पुलले दुई किनारा मात्र होइन, विश्वास पनि जोड्छस सडकले दूरी मात्र होइन, विकासको ढोका खोल्छ। विद्युतले बत्ती मात्र होइन, उद्योग, रोजगारी र समृद्धिको सम्भावनालाई उज्यालो बनाउँछ,’ उनले भने।

    उनले सरकारको नीति सफल बनाउने जिम्मेवारी अन्ततः इन्जिनियरहरूको काँधमा रहने उल्लेख गर्दै राष्ट्रहितलाई सर्वोपरि राखेर सिर्जनशील र उत्तरदायी ढंगले काम गर्न सम्पूर्ण नेपाली इन्जिनियरहरूलाई आह्वान गरे।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend