काठमाडौं । साउन १ गतेदेखि देशभर प्रदर्शन भइरहेको चलचित्र ‘गौँथली’ अहिले प्रचारप्रसारमा व्यस्त छ । चलचित्रकी मुख्य अभिनेत्री सिम्रन खड्का यतिबेला दैनिक विभिन्न स्थानमा पुगेर दर्शकमाझ चलचित्रको प्रचारमा जुटिरहेकी छन् ।
विशेष कुराकानीमा उनले ‘गौँथली’को कथा, आफूले निभाएको पात्र, चलचित्रले दिएको जीवनदृष्टि, अभिनय यात्रादेखि नेपाली समाजका विद्यमान समस्यासम्मका विषयमा खुलेर धारणा राखिन् ।
सिम्रनका अनुसार ‘गौँथली’ कुनै एक पात्रको कथा मात्र होइन, आफ्नो सपना पूरा गर्न अनेक बाधा पार गर्दै अघि बढ्ने हरेक महिलाको प्रतिनिधि कथा हो ।
उनले भनिन्, ‘सबैको जीवनमा केही बन्ने, केही गर्ने इच्छा हुन्छ । ‘गौँथली’ पनि त्यस्तै एउटा युवतीको कथा हो, जसको सबैभन्दा ठूलो सपना भनेको पढ्नु हो । जीवनमा अनेक उतारचढाव आएपनि आफ्नो लक्ष्यबाट नडगमगाउने पात्र हो ‘गौँथली’।’
२५ वर्षअघिको विरासत बोकेको चलचित्रमा मुख्य भूमिका केहो ?
२५ वर्षअघि बनेको चर्चित कथाको पुनःनिर्माण भएकाले ‘गौँथली’मा मुख्य भूमिका निर्वाह गर्नु चुनौतीपूर्ण भए पनि आफूले त्यसलाई दबाबका रूपमा नभई जिम्मेवारीका रूपमा लिएको सिम्रन बताउँछिन् ।
‘मैले कहिल्यै पनि ‘मुख्य भूमिका छ, गाह्रो हुन्छ’ भनेर सोचिनँ । मेरो ध्यान पात्रलाई न्याय गर्ने र त्यसलाई पूर्ण रूपमा महसुस गरेर अभिनय गर्नेमा मात्रै थियो । तर २५ वर्षअघि नै दर्शकको मन जितिसकेको कथाको विरासत बोकेको फिल्म भएकाले चुनौती त थियो । तर हाम्रो सम्पूर्ण टिम निकै सहयोगी भएकाले काम सहज भयो,’ उनले भनिन् ।
‘गौँथली’ले के बदलिदियो सोच ?
चलचित्रमा गाउँकी युवतीको भूमिका निर्वाह गरेकी सिम्रनका लागि घाँस काट्ने, दाउरा बोक्ने वा गाउँको जीवन पूर्ण रूपमा अपरिचित भने थिएन । बाल्यकालमा बिदाको समयमा गाउँ जाँदा यस्ता काममा रमाउने अनुभव उनले पहिले नै बटुलेकी थिइन् ।
तर चलचित्रको कथा पढ्दा भने उनले बालविवाह र बुहारीमाथिको विभेद अहिले पनि यथार्थ हो भन्ने कुरा सहजै पत्याएकी थिइनन् ।
‘पहिला मलाई लाग्थ्यो, अहिले कहाँ बालविवाह हुन्छ र रु अहिले कहाँ सासुले बुहारीलाई हेप्छन् र रु तर म पूर्ण रूपमा गलत रहेछु,’ उनले भनिन् ।
पर्वतमा छायांकनका क्रममा आफूले एउटै गाउँमा ‘गौँथली’ पात्रजस्तै तीनजना महिला भेटेको अनुभव सुनाउँदै उनले अहिले पनि बालविवाह र लैङ्गिक विभेद कायम रहेको देख्दा निकै दुःख लागेको बताइन् ।
‘हामी बाहिरबाट जे देख्छौँ, वास्तविकता त्यही नहुनपनि सक्छ । गाउँमा गएपछि मात्रै अहिले पनि बालविवाह, विभेद र महिलामाथिका धेरै समस्या यथावत् छन् भन्ने महसुस भयो । ‘गौँथली’ले मेरो सोच नै परिवर्तन गरिदियो,’ उनले भनिन् ।
अडिसनदेखि मुख्य भूमिकासम्म के ?
सिम्रन चलचित्रमा सहायक निर्देशक गिडासमार्फत जोडिएकी हुन् । त्यसपछि निर्माता पक्षले उनलाई अडिसनका लागि बोलायो ।
‘अडिसनपछि ‘फिक्स त छैन है नानी’ भनेर भन्नुभएको थियो । पछि फोन गरेर ‘तिमी नै हुने भयौ’ भन्नुभयो । त्यो क्षण अझै सम्झन्छु,’ उनले सुनाइन् ।
मदनकृष्ण श्रेष्ठसँगको अविस्मरणीय अनुभव के ?
‘गौँथली’मा कलाकार मदनकृष्ण श्रेष्ठसँग स्क्रिन सेयर गर्नु आफ्नो अभिनय जीवनकै महत्वपूर्ण अनुभव भएको सिम्रन बताउँछिन् ।
बाल्यकालदेखि टेलिभिजनमा हेरेका कलाकारसँग पहिलो पटक अभिनय गर्दा आफू निकै डराएको उनी सम्झिन्छिन् ।
‘मदन बा को स्वास्थ्य अवस्था सहज थिएन । सामान्य हिँड्दा पनि गाह्रो हुन्थ्यो । तर ‘एक्सन’ भनेपछि उहाँ १५–२० मिनेटसम्म उभिएर अभिनय गर्नुहुन्थ्यो । मलाई पनि राम्रो भाव आउँछ भनेर आफैँ उभिएर क्यू दिनुहुन्थ्यो। उहाँबाट धेरै कुरा सिक्ने अवसर पाएँ,’ उनले भनिन् ।
सेटमा मदनकृष्ण श्रेष्ठ, रविन्द्र झा र प्रकाश घिमिरेजस्ता वरिष्ठ कलाकारसँग रमाइलो वातावरण भएपनि आफ्नो पात्र अत्यन्त भावुक भएकाले अभिनयको भाव बिग्रिन नदिन आफूले धेरै हाँसोसमेत नियन्त्रण गर्नुपरेको उनले बताइन् ।
समाज परिवर्तन हुँदैछ, तर यात्रा अझै के बाँकी छ ?
सिम्रनको बुझाइमा समाज परिवर्तनको बाटोमा अघि बढेको छ, तर पूर्ण रूपमा बदलिइसकेको छैन ।
‘पहिलाजस्तो बालविवाह अहिले कम भएको छ, परिवर्तन भइरहेको छ । तर समस्या पूर्ण रूपमा अन्त्य भएको छैन,’ उनले भनिन् ।
उनका अनुसार अझै पनि धेरै ठाउँमा ‘छोरीलाई पढाएर के हुन्छ रु’, ‘बिहेपछि किन पढ्नेरु’, ‘बच्चा भएपछि सपना सकियो’ भन्ने सोच कायम छ ।
विवाह भयो, बच्चा भयो भन्दैमा सपना समाप्त हुँदैन । जुनसुकै उमेरमा पनि आफ्नो लक्ष्य पूरा गर्न सकिन्छ । त्यसका लागि मन बलियो र लक्ष्य स्पष्ट हुनुपर्ने उनले जोड दिइन् ।
‘गौँथली’ किन हेर्ने ?
सिम्रनका अनुसार ‘गौँथली’ केवल मनोरञ्जनका लागि बनेको चलचित्र होइन । यसले सामाजिक सन्देश पनि बोकेको छ ।
‘चलचित्रमा राम्रो सामाजिक र नैतिक सन्देश छ । एकैछिनमा हाँस्नुहुन्छ, अर्को क्षण भावुक बन्नुहुन्छ । प्रेमलाई पनि अत्यन्त सुन्दर ढंगले प्रस्तुत गरिएको छ । अटिजम भएको पात्रले कसरी प्रेम गर्छ भन्ने पक्ष पनि निकै संवेदनशील रूपमा देखाइएको छ,’ उनले भनिन् ।
सानैदेखिको सपना ‘म हिरोइन बन्छु’
अभिनेत्री बन्ने सपना आफूले बाल्यकालदेखि नै देखेको सिम्रन बताउँछिन् । ‘दशैंमा टिका लगाउँदा सबैलाई ‘इन्जिनियर बन, पाइलट बन’ भनेर आशीर्वाद दिइन्थ्यो । मलाई भने ‘हिरोइन बन्नुपर्छ’ भन्न लगाउँथेँ,’ उनले मुस्कुराउँदै सम्झिइन् । लकडाउनपछि एउटा म्यूजिक भिडियोमार्फत अभिनय यात्रा सुरु गरेकी उनले त्यसपछि अभिनय कक्षा लिइन् । कक्षा सुरु गरेको करिब एक महिनामै चलचित्र ‘प्रेमगञ्ज’को अडिसन खुल्यो । ‘हामी त अनुभवका लागि मात्रै अडिसन दिन गएका थियौँ । तर म नै छनोट भएँ । त्यसबेला निर्देशकलाई ‘मलाई केही आउँदैन, अर्को कलाकार लिनुहोस्’ समेत भनेकी थिएँ । तर उहाँले ममाथि विश्वास गर्नुभयो,’ उनले भनिन् ।
उनले पहिलो अवसर दिएका निर्देशकप्रति विशेष आभार व्यक्त गरिन् । त्यसपछि ‘चित्रा’, ‘अगस्ती’ र ‘बेउली फ्रम मेघौली’लगायतका चलचित्रमा अवसर पाउँदै अभिनय यात्रालाई अघि बढाएको उनले बताइन् । अभिनयलाई अझ निखार्न उनले ‘एक्टर्स हब एकेडेमी’बाट व्यावसायिक प्रशिक्षणसमेत लिएकी छन् ।
विदेशभन्दा आफ्नै देशमा सम्भावना देख्छिन् सिम्रन
नेपालबाट विदेशिने युवाको लहरबारे बोल्दै सिम्रनले आर्थिक कारणले धेरै नेपाली बाहिरिन बाध्य भएको स्वीकार गरिन् । आफ्नै परिवारले पनि विदेश जान सुझाव दिने गरेको उनी बताउँछिन् । तर आफू भने नेपालमै आफ्नो करिअर र भविष्य देख्ने बताउँछिन् ।
‘अहिलेसम्म राम्रो काम गरिरहेकी छु, राम्रो आम्दानी पनि भइरहेको छ । एउटै लक्ष्यमा केन्द्रित भएर इमान्दारीका साथ काम गरियो भने नेपालमै पनि सम्भावना छ भन्ने मलाई लाग्छ,’ उनले भनिन् ।
दर्शकप्रति आभार सहित आयकर तिर्छु
चलचित्रको ट्रेलर, टिजर र गीतलाई दर्शकले दिएको मायाप्रति आभार व्यक्त गर्दै सिम्रनले ‘गौँथली’लाई एकपटक हलमा गएर हेर्न आग्रह गरिन् ।
‘हामी जहाँ–जहाँ प्रचारका लागि गयौँ, दर्शकले ‘तिम्रो फिल्म हेर्छौं’ भनेर धेरै माया दिनुभयो । त्यो मेरो लागि नयाँ अनुभव थियो । अहिलेसम्म दिनुभएको माया र साथका लागि धन्यवाद । साउन १ गतेदेखि चलचित्र प्रदर्शनमा आएको छ । । एकपटक हेरेर जस्तो लाग्छ, त्यहीअनुसार निष्पक्ष समीक्षा दिनुहोस् भन्ने अपेक्षा छ,’ उनले भनिन् । आफू फिल्म खेल्दा पाएको पैसाबाट आयकर तिर्ने गरेको उनको दाबी छ ।


