सरकारी कर्मचारीको बढेको तलब र भत्ता लागू, कसको कति पुग्यो?

सरकारी कर्मचारीको बढेको तलब र भत्ता लागू, कसको कति पुग्यो?

ट्याक्स खबर
बिहिवार, श्रावण २१ २०८३
ट्याक्स खबर
बिहिवार, श्रावण २१ २०८३
  • images

    काठमाडौं। सरकारले निजामती, सुरक्षा निकाय, स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहका कर्मचारीका लागि नयाँ तलबमान, ग्रेड र १० प्रतिशत मासिक प्रोत्साहन भत्ता स्वीकृत गरेको छ।

    अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले जारी गरेको परिपत्रअनुसार मन्त्रिपरिषद्को साउन ६ गते बसेको बैठकले नयाँ तलबमान र सुविधा स्वीकृत गरेको हो। निर्णयअनुसार नयाँ व्यवस्था २०८३ साउन १ गतेदेखि नै लागू हुनेछ।

    सरकारले वृद्धि भएको आधारभूत तलबमा एक दिनको तलब बराबरको ग्रेड रकम समावेश गरेपछि कायम हुने तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ता उपलब्ध गराउने व्यवस्था गरेको छ।

    सबै सेवा समूहमा नयाँ तलबमान

    नयाँ व्यवस्थाअनुसार निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहका कर्मचारीका लागि पदअनुसार नयाँ सुरु तलब, ग्रेड र अधिकतम तलबमान निर्धारण गरिएको छ।

    निजामती सेवातर्फ मुख्य सचिवको सुरु तलब ८४ हजार ९३२ रुपैयाँ कायम गरिएको छ भने दुई ग्रेडपछि अधिकतम ९० हजार ५९४ रुपैयाँ पुग्नेछ। सचिवको सुरु तलब ७९ हजार २९० रुपैयाँ, सहसचिवको ६२ हजार ४६६ रुपैयाँ, उपसचिवको ५३ हजार ६११ रुपैयाँ र शाखा अधिकृतको ४८ हजार ५८ रुपैयाँ निर्धारण गरिएको छ।

    त्यस्तै, नायब सुब्बाको सुरु तलब ३८ हजार २०३ रुपैयाँ, खरिदारको ३६ हजार १९२ रुपैयाँ तथा कार्यालय सहयोगीको २७ हजार १७२ रुपैयाँ कायम गरिएको छ।

    सेना, प्रहरी र सशस्त्र प्रहरीको तलब पनि समायोजन

    सुरक्षा निकायतर्फ प्रहरी महानिरीक्षक (आईजीपी) र सशस्त्र प्रहरी महानिरीक्षकको सुरु तलब ७९ हजार २९० रुपैयाँ तथा नेपाली सेनाका रथीको ८१ हजार ६४३ रुपैयाँ तोकिएको छ।

    प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सुरु तलब ६२ हजार ४६६ रुपैयाँ, प्रहरी निरीक्षकको ४८ हजार ५८ रुपैयाँ, नायब निरीक्षक (एसआई) को ३८ हजार २०३ रुपैयाँ र प्रहरी जवानको २८ हजार ६९० रुपैयाँ कायम गरिएको छ।

    स्वास्थ्यकर्मी र शिक्षक पनि समेटिए

    स्वास्थ्य सेवातर्फ अधिकृत १२औँ तहको सुरु तलब ७९ हजार २९० रुपैयाँ, ११औँ तहको ६६ हजार ५३९ रुपैयाँ तथा सहायक पाँचौँ तहको ३८ हजार २०३ रुपैयाँ निर्धारण गरिएको छ।

    सामुदायिक विद्यालयका शिक्षकतर्फ माध्यमिक प्रथम श्रेणी शिक्षकको सुरु तलब ६२ हजार ४६६ रुपैयाँ, माध्यमिक द्वितीय श्रेणीको ५३ हजार ६११ रुपैयाँ, माध्यमिक तृतीय श्रेणीको ४८ हजार ५८ रुपैयाँ तथा प्राथमिक र निम्न माध्यमिक तहका शिक्षकको पनि तहअनुसार नयाँ तलबमान स्वीकृत गरिएको छ।

    प्रदेश र स्थानीय तहमा पनि लागू

    प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि पनि नयाँ तलबमान लागू हुनेछ। निवृत्तिभरण प्रयोजनका लागि अधिकृत ११औँ तहको सुरु तलब ६६ हजार ५३९ रुपैयाँ, १०औँ तहको ६२ हजार ४६६ रुपैयाँ र सहायक पाँचौँ तहको ३८ हजार २०३ रुपैयाँ कायम गरिएको छ।

    सरकारले २०५७ साल साउन १ गतेअघि नियुक्त भएका प्राविधिक तथा विशेष व्यवस्थाअन्तर्गतका कर्मचारीका लागि थप ग्रेड र अन्तिम तलबमानसम्बन्धी छुट्टै व्यवस्था पनि गरेको छ।

    अर्थ मन्त्रालयले सबै सरकारी निकायलाई साउन १ गतेदेखि नयाँ तलबमान, ग्रेड र १० प्रतिशत मासिक प्रोत्साहन भत्ता अनुसार भुक्तानी प्रक्रिया कार्यान्वयन गर्न निर्देशन दिएको छ।

    तथ्यांकमा हेर्नुहाेस्

    १. निजामती तथा संसद सेवाको तलबमान

    निजामती सेवा तथा संसद सेवातर्फ मुख्य सचिव/विशिष्ट श्रेणीदेखि कार्यालय सहयोगीसम्मको नयाँ तलबमान निर्धारण गरिएको छ।

    • मुख्य सचिव/प्रधान सेनापति: सुरु तलबमान रु. ८४,९३२। २ वटा ग्रेड (प्रतिग्रेड रु. २,८३१) थपिएपछि कायम जम्मा रु. ९०,५९४।

    • राजपत्रांकित विशिष्ट (सचिव/अतिरिक्त सचिव): सुरु तलबमान रु. ७९,२९०। २ वटा ग्रेड (प्रतिग्रेड रु. २,६४३) सहित अधिकतम रु. ८४,५७६।

    • सहसचिव (रा.प. प्रथम): सुरु तलबमान रु. ६२,४६६। ७ वटा ग्रेड (प्रतिग्रेड रु. २,०८२) सहित अधिकतम रु. ७७,०४०।

    • उपसचिव (रा.प. द्वितीय): सुरु तलबमान रु. ५३,६११। ८ वटा ग्रेड (प्रतिग्रेड रु. १,७८७) सहित कायम जम्मा रु. ६७,९०७।

    • शाखा अधिकृत (रा.प. तृतीय): सुरु तलबमान रु. ४८,०५८। ८ वटा ग्रेड (प्रतिग्रेड रु. १,६०२) सहित अधिकतम रु. ६०,८७४।

    • नायब सुब्बा (रा.प.अनं. प्रथम): सुरु तलबमान रु. ३८,२०३। १० वटा ग्रेड (प्रतिग्रेड रु. १,२७३) सहित रु. ५०,९३३।

    • खरिदार (रा.प.अनं. द्वितीय): सुरु तलबमान रु. ३६,१९२। १० वटा ग्रेड (प्रतिग्रेड रु. १,२०६) सहित रु. ४८,२५२।

    • कार्यालय सहयोगी (प्रथम स्तर): सुरु तलबमान रु. २७,१७२। २ वटा ग्रेड (प्रतिग्रेड रु. ९०६) सहित रु. २८,९८४।

    सुरक्षा निकाय (सेना, प्रहरी र सशस्त्र प्रहरी)

    सुरक्षा निकायका उच्च पदस्थ अधिकारीदेखि तल्ला दर्जाका जवानसम्मको सुरु तलब र ग्रेड तोकिएको छ।

    पद/दर्जा सुरु तलबमान ग्रेड संख्या र दर कायम जम्मा
    प्रहरी महानिरीक्षक / सशस्त्र प्रहरी महानिरीक्षक रु. ७९,२९० २ (रु. २,६४३)

    रु. ८४,५७६

    नेपाली सेना (रथी) रु. ८१,६४३ २ (रु. २,७२१)

    रु. ८७,०८५

    नेपाली सेना (उपरथी) रु. ७९,२९० २ (रु. २,६४३)

    रु. ८४,५७६

    प्रहरी/सशस्त्र वरिष्ठ उपरीक्षक (SSP) रु. ६२,४६६ ४ (रु. २,०८२)

    रु. ७०,७९४

    प्रहरी/सशस्त्र निरीक्षक (Inspector) रु. ४८,०५८ ८ (रु. १,६०२)

    रु. ६०,८७४

    प्रहरी/सशस्त्र नायब निरीक्षक (SI) रु. ३८,२०३ ८ (रु. १,२७३)

    रु. ४८,३८७

    प्रहरी/सशस्त्र जवान / सिपाही रु. २८,६९० ८ (रु. ९५६)

    रु. ३६,३३८

    रिक्रूट / नन् कम्बाटेण्ट (प्रथम स्तर) रु. २७,१७२ -

    रु. २७,१७२

    (विमान सम्भार समूहतर्फ पाइलट उपरथीको सुरु तलबमान रु. ८४,८५३ र २ वटा ग्रेडसहित अधिकतम रु. ९०,५०९ कायम गरिएको छ।)

    स्वास्थ्य सेवा

    स्वास्थ्य सेवातर्फ प्राविधिक तह अनुसार तलबमान निर्धारण गरिएको छ।

    • अधिकृत बाह्रौँ तह: सुरु तलबमान रु. ७९,२९० (कायम जम्मा रु. ८४,५७६)।

    • अधिकृत एघारौँ तह: सुरु तलबमान रु. ६६,५३९ (३ वटा ग्रेडसहित रु. ७३,१९३)।

    • अधिकृत आठौँ तह: सुरु तलबमान रु. ५३,६११ (४ वटा ग्रेडसहित रु. ६०,७५९)।

    • अधिकृत सातौँ तह: सुरु तलबमान रु. ५०,४३६ (५ वटा ग्रेडसहित रु. ५८,८४१)।

    • सहायक पाँचौँ तह: सुरु तलबमान रु. ३८,२०३ (३ वटा ग्रेडसहित रु. ४५,८४१)।

    • सहायक प्रथम तह: सुरु तलबमान रु. २७,१७२ (१० वटा ग्रेडसहित रु. ३६,२३२)।

     सामुदायिक विद्यालयका शिक्षक

    शिक्षकहरूको तह र श्रेणी अनुसार स्वीकृत नयाँ तलब विवरण यस प्रकार छ।

    • माध्यमिक शिक्षक (प्रथम श्रेणी): सुरु तलब रु. ६२,४६६ (६ वटा ग्रेडसहित अधिकतम रु. ७४,९५८)।

    • माध्यमिक शिक्षक (द्वितीय श्रेणी): सुरु तलब रु. ५३,६११ (८ वटा ग्रेडसहित रु. ६७,९०७)।

    • माध्यमिक शिक्षक (तृतीय श्रेणी): सुरु तलब रु. ४८,०५८ (८ वटा ग्रेडसहित रु. ६०,८७४)।

    • निम्न माध्यमिक (प्रथम श्रेणी): सुरु तलब रु. ५०,४४८ (८ वटा ग्रेडसहित रु. ६३,९०४)।

    • निम्न माध्यमिक (तृतीय श्रेणी): सुरु तलब रु. ३८,२०३ (८ वटा ग्रेडसहित रु. ४८,३८७)।

    • प्राथमिक (S.L.C. उत्तीर्ण प्रथम श्रेणी): सुरु तलब रु. ४८,०५८ (८ वटा ग्रेडसहित रु. ६०,८७४)।

    • प्राथमिक (S.L.C. उत्तीर्ण तृतीय श्रेणी): सुरु तलब रु. ३६,१९२ (६ वटा ग्रेडसहित रु. ४३,४२८)।

    प्रदेश, स्थानीय तह तथा विशेष व्यवस्था

    प्रदेश तथा स्थानीय तहमा (निवृत्तभरण प्रयोजनका लागि) अधिकृत एघारौँ तहको सुरु तलबमान रु. ६६,५३९, दशौँ तहको रु. ६२,४६६ र सहायक पाँचौँ तहको रु. ३८,२०३ कायम गरिएको छ।

    यसै गरी, २०५७ साल साउन १ गतेभन्दा अघि नियुक्ति पाएका प्राविधिक तथा विशेष व्यवस्था अन्तर्गत सेवामा रहेका कर्मचारीहरूका लागि थप ग्रेड र अन्तिम तलबमानको अलग्गै व्यवस्था समेत निर्णयमा समावेश छ। मन्त्रालयका अनुसार सबै निकायहरूले साउन १ गतेदेखि नै यो नयाँ व्यवस्था अनुसार भुक्तानी प्रक्रिया लागू गर्नुपर्नेछ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend