अन्तशुल्क के हो ? नेपालमा  कुन-कुन वस्तुमा अन्तशुल्क लाग्छ ?

अन्तशुल्क के हो ? नेपालमा  कुन-कुन वस्तुमा अन्तशुल्क लाग्छ ?

शुक्रवार, आषाढ ६ २०८२
शुक्रवार, आषाढ ६ २०८२
  • images

    काठमाण्डौं — नेपालमा सरकारले राजस्व संकलनका विभिन्न माध्यमहरू अपनाउँदै आएको छ, जसमा अन्तशुल्क (Excise Duty) एक महत्त्वपूर्ण स्रोत मानिन्छ। यो शुल्क कुनै वस्तु वा सेवाको उत्पादन, बिक्री वा उपभोगको क्रममा लगाइन्छ, जुन विशेष रूपमा विलासी, सामाजिक रूपमा संवेदनशील वा स्वास्थ्यमा हानि पुर्‍याउने वस्तुहरूमा केन्द्रित हुन्छ।

    अन्तशुल्क अन्य करहरूभन्दा पृथक् यस अर्थमा हुन्छ कि यो वस्तु उत्पादन वा आपूर्ति हुने बेलामै लागू हुन्छ र यसको प्रभाव उपभोक्ताले तिर्ने मूल्यमा समावेश भइसकेको हुन्छ। नेपालमा अन्तशुल्कको मुख्य उद्देश्य भनेको सरकारी आम्दानी वृद्धि गर्नुका साथै हानिकारक वा अनावश्यक वस्तुको प्रयोगमा नियन्त्रण ल्याउनु हो।

    अन्तशुल्क ऐन २०५८ र  एकीकृत महसुल दरबन्दी २०८१–८२ अनुसार, अन्तशुल्क लागू गरिएका वस्तुहरूको सूची धेरै विस्तृत छ। यसमा सबैभन्दा पहिले मादक पदार्थहरू पर्छन्, जसमा बियर, वाइन, ह्विस्की, रम, भोड्का लगायतका पेयमा उच्च दरमा अन्तशुल्क लगाइएको छ।  उदाहरणका लागि सेम्पेन ,सेरी, मिड, पेरी, साइडर लगायत १७ प्रतिशतभन्दा बढी अल्कोहल भएको जडिबुटी मिसाइएको मदिरा, कक्टेलमा मात्रै प्रति लिटर रू. ५१६ अन्तशुल्क लाग्ने व्यवस्था छ। अल्काेहलकाे मात्रा र मदिराकाे प्रकृती अनुसार याे दर झन्डै  प्रतिलिटर २००० रूपैँया सम्म समेत छ  ।  

    यससँगै चुरोट, सुर्ती, गुट्खा, सिगार, बीड़ी, खैनी जस्ता तमाखुजन्य तथा सुर्तीजन्य उत्पादनहरूमा समेत विशेष शुल्ककाे व्यवस्था गरिएको छ। उदाहरणका लागि, खैनी, गुट्खा र निकोटिनयुक्त पान मसलाहरू तथा सुर्ती मिसाइएका तयारी वस्तुहरूमा प्रति किलोग्राम रू. ८५० अन्तशुल्क तोकिएको छ। मदिराको अन्तशुल्क गणना गर्दा प्रति एलपि लिटर वा प्रति लिटरमध्ये जुन बढी हुन्छ सोही दरमा गणना गरी अशुल गरिन्छ।

    सौन्दर्य प्रसाधनहरू, विलासी घडीहरू, महँगा गहना र अन्य मूल्यवान वस्त्रहरू पनि अन्तशुल्कको दायरामा पर्ने गर्छन्। यसबाहेक टेलिभिजन, फ्रिज, एसी, मोबाइल फोन, वाशिंग मेसिन जस्ता विद्युतीय सामानहरूमा पनि यो शुल्क लाग्ने व्यवस्था छ, विशेष गरी उच्च मूल्यका वस्तुहरूमा।

    क्यासिनो, जुवा तथा अनलाइन ग्याम्ब्लिङ जस्ता सेवा–क्षेत्रमा पनि अन्तशुल्क लाग्ने व्यवस्था गरिएको छ। त्यसैगरी बोतलबन्द कोल्ड ड्रिंक, एनर्जी ड्रिंक, मिनरल वाटर लगायतका प्रशोधित खाद्य तथा पेय पदार्थहरू पनि शुल्क दायरामा परेका छन्।

    सरकारले हरेक आर्थिक वर्षमा महसुल दर पुनरावलोकन गर्दै आउने भएकाले अन्तशुल्क लाग्ने वस्तुहरू र त्यसको दर परिवर्तन हुन सक्ने सम्भावना रहन्छ। यसले व्यवसायी, उपभोक्ता र नीतिनिर्माताहरूलाई उत्तिकै प्रभाव पार्ने गर्छ। 

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend